आवरउदयपुर,चैत्र २४ ।
झापा — कनकाई नगरपालिका–७, हनुमान टोलमा रहेको पाथीभरा किर्तन मण्डली समाजको आयोजनामा हनुमान जयन्तीको अवसरमा सामूहिक भजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मण्डलीकै भवन परिसरमा आयोजना गरिएको सन्ध्याकालीन भजन कार्यक्रममा विभिन्न किर्तन मण्डलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कनकाई नगरपालिका–१ स्थित लक्ष्मी नारायण किर्तन समाज, कनकाई–७ का हलेशी किर्तन समाज, सूर्यज्योति किर्तन समाज, नवदुर्गा किर्तन समाज लगायतका मण्डलीहरूबाट बाक्लो प्रतिनिधित्व रहेको थियो।
कार्यक्रम पाथीभरा किर्तन मण्डली समाजका अध्यक्ष टीका दुलालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जेष्ठ अभिभावक रोहिनी गौतम, संस्थापक तथा निवर्तमान अध्यक्ष कमला पराजुली, लक्ष्मी नारायण किर्तन समाजका अध्यक्ष मदन डाँगी, हलेशी किर्तन समाजका प्रतिनिधि विश्वपुरुष बास्कोटा, सूर्यज्योति किर्तन समाजका प्रतिनिधि डिल्लीराम चापागाईं तथा सीता गौतम लगायतको आतिथ्यता रहेको थियो।
भजन कार्यक्रमको क्रममा ‘ज्ञान मञ्च’ समेत सञ्चालन गरिएको थियो, जसले धार्मिक तथा नैतिक शिक्षाको प्रवर्द्धनमा थप योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सञ्चालन रिजन तिम्सिनाले गरेका थिए। धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम स्थानीय स्तरमा निकै सफल र प्रभावकारी बनेको आयोजकले जनाएको छ ।






