उदयपुरमा पहिलोपटक कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता–२०८२ हुँदै
तिजा मगर चैत्र २५, कोशी प्रदेशमै पहिलोपटक उदयपुर जिल्लामा ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघ जिल्ला समिति उदयपुरले मङ्गलवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता चैत २६ र २७ गते बेलका नगरपालिका–८ बोप्ताङमा सञ्चालन हुने जानकारी दिएको हो।
संघका जिल्ला सचिव जितेन्द्र रोइलाका अनुसार प्रतियोगितामा चार जना विदेशी पाइलटसहित कुल ३५ जना प्रतिस्पर्धी सहभागी हुनेछन्। विदेशी सहभागीमध्ये दुई जना भारत, एक जना चीन र एक जना जर्मनीका रहनेछन् भने अन्य नेपाली पाइलटहरू रहनेछन्।
प्याराग्लाइडिङ एक्युरेसी विशेष प्रकारको हवाई खेलकुद हो, जसमा पाइलटहरूले आकाशबाट उडेर जमिनमा तोकिएको निश्चित बिन्दुमा कति सटिक रूपमा अवतरण गर्न सक्छन् भन्ने आधारमा प्रतिस्पर्धा गरिन्छ। प्रतियोगितामा प्रत्येक पाइलटले तीन–तीन पटक अवतरण गर्ने अवसर पाउनेछन्।
प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। निर्णायक तथा मूल्याङ्कनकर्तामा भारतको सिक्किमबाट राजु राई, नेपालका सुरेन गुरुङ र विमल अधिकारी रहने आयोजकले जनाएको छ।
संघका अनुसार हाल उदयपुरमा दुई जना महिला र १६ जना पुरुष गरी कुल १८ जना सोलो प्याराग्लाइडिङ पाइलट सक्रिय छन्। जिल्लामा २०७८ सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको हो।
प्याराग्लाइडिङ क्षेत्रको विकासका लागि हाल सम्म विभिन्न स्थानीय तहहरूले पनि लगानी गरेका छन्। कटारी नगरपालिकाले २ लाख, त्रियुगा नगरपालिकाले ५ लाख, चौदण्डीगढी नगरपालिकाले १ लाख तथा बेलका नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका छन्।
बेलका नगरपालिका–८ बोप्ताङस्थित ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रा.लि.’ मार्फत हाल आधारभूत पाइलट तालिम सञ्चालन भइरहेको छ। उक्त प्रशिक्षण केन्द्रमा नेपालसहित भारत, चीन तथा युरोपका स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड र पोर्चुगलबाट समेत प्रशिक्षार्थी आउने गरेका छन्।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका केन्द्रीय सदस्य महेन्द्र राईले उदयपुरका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावनायुक्त रहेको बताउनुभयो। यद्यपि, आवश्यक पूर्वाधार (टेकअफ र ल्यान्डिङ क्षेत्र) को अभाव तथा स्पष्ट सरकारी नीति नहुनु मुख्य चुनौतीका रूपमा रहेको सोलो पाइलट भुपाल राउतले उल्लेख गर्नुभयो।
उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र अनुकूल मौसमका कारण यहाँ साहसिक पर्यटनको ठूलो सम्भावना रहेको छ। विशेषगरी महाभारत क्षेत्रबाट भित्री मधेशतर्फ फैलिएका चुरेका फाँटहरू टेकअफ र ल्यान्डिङका लागि उपयुक्त मानिएका छन्। स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक प्राथमिकता दिएमा यस क्षेत्रको उल्लेखनीय विकास हुने अपेक्षा गरिएको छ।
यस प्रतियोगिताको प्रायोजन कोशी प्रदेश पर्यटन कार्यालय, धरान सुनसरीले गरेको आयोजकले जनाएको छ।






