
आवरउदयपुर,भदौ १८ ।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा उदयपुरले छैठौं वार्षिक उत्सवका अवसरमा मदन भण्डारी आँखा अस्पताल परिसरमा विशेष विरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख प्रेमप्रसाद लुईटेल र जीवनसाथी जानुका लुईटेलले स्व. बुवा छत्रपति लुईटेलको स्मृतिमा विरुवा रोप्नुभयो। त्यस्तै, सामाजिक व्यक्तित्व मिना कुमारी राई (रन्जु) र संचारीका समूह उदयपुरकी अध्यक्ष गंगा राईले स्व. पिता मानध्व राईको स्मृतिमा विरुवा रोप्नुभयो।
सो अवसरमा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका उप–मेयर महेश्वरी राई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघका अध्यक्ष भागवत राउतका अनुसार पितृ–पुर्खाको सम्झनामा गरिएको विरुवा रोपणले वातावरण संरक्षण मात्र नभई हरियाली र आर्थिक लाभ दुबै दिनेछ। अस्पताल परिसरमा रोपिएका रुद्राक्ष, तेजपत्ता, मलेसियन सल्ला जस्ता विरुवाले भविष्यमा उपजमार्फत योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अहिले नै केही रुद्राक्षका बोट फल दिन थालेका छन्।
समारोहमा रोपिएका विरुवाहरुलाई गोडमेल, पानी र मल अर्चना गरी कार्यक्रम सम्पन्न गरिएको छ।