आवरउदयपुर,भदौ ३० ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारको अन्त्य, सूचनाको हक र सुशासनको मागसहित भदौ २३ र २४ गते देशभर जेन–जि पुस्ताका युवाहरूले आयोजना गरेका विरोध प्रदर्शनमा राज्यपक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण राजधानीसहित विभिन्न जिल्लामा सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीको ज्यान गएकामा उदयपुरका नागरिक समाज, संघसंस्था तथा अभियन्ताहरूले गहिरो ध्यानाकर्षण गराएका छन्। उनीहरूले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। साथै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेका छन्।

उदयपुरमा भएको प्रदर्शनका क्रममा विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि तथा नागरिक अभियन्ताहरूको निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति नागरिक समाजले कडा आपत्ति जनाएको छ। यस क्रममा कोशी प्रदेश उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, पूर्व मेयर बलदेव चौधरी, वडा अध्यक्ष सुमन्त कोईराला लगायत जनप्रतिनिधिहरूको निवास तथा निजी सम्पत्ति, आभाषा अभियान संयोजक नजबुल खान (निलम) को मोटरसाइकल, रेडक्रस सभापति शम्भु पौडेलको घर, विभिन्न नगरपालिका र वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख दलका पार्टी कार्यालय, बार एसोसिएसन, जिल्ला प्रहरी कार्यालय लगायतका संरचनामा गरिएको तोडफोड, ढुंगामुढा र आगजनीलाई गम्भीर रूपमा निन्दा गरिएको छ। संलग्न व्यक्तिहरूलाई तत्काल खोजी अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न र क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनसँग माग गरिएको छ।

साथै, अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचारमुक्त समाज, सुशासन र राजनीतिमा पुस्तान्तरणको मागलाई उदयपुरका नागरिक समाज र संघसंस्थाले पूर्ण ऐक्यबद्धता जनाएका छन्। उनीहरूले घटनाबारे स्वतन्त्र छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गरेका छन्। नागरिक समाजका अनुसार लोकतन्त्र, मानव अधिकार, संघीयता र संविधानको संरक्षणमा आफ्नो अडान दृढ रहेको भए पनि पछिल्ला घटनाक्रमले विगतका उपलब्धि गुम्ने खतरा बढाएको चेतावनीसमेत दिइएको छ।

यस विस्तृत अपिलमा नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल बार एसोसिएसन उदयपुर, गैह्र सरकारी संस्था महासंघ, जिल्ला उद्योग वाणिज्य संघ, त्रियुगा उद्योग वाणिज्य संघ, महिला सशक्तीकरण समूह, मानव अधिकार एलायन्स, सामाजिक विकास संस्था, कलाकार समाज, जेसीज, प्याब्सन, एनप्याब्सन, होटल तथा पर्यटन व्यवसायी संघसहित उदयपुरका विभिन्न नागरिक तथा सामाजिक संस्था र अभियन्ताहरूको संयुक्त हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय