श्रमदान र संगठन विस्तारमा केन्द्रित हुन हर्क साम्पाङको आग्रह
हर्क साम्पाङ ले श्रम संस्कृति पार्टी का प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार तथा जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले ठूलो जिम्मेवारीमा पुगेपछि काम कम देखिए पनि दायित्व भने अझ बढी हुने बताए। उनले प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्ला मात्र नभई सबै जिल्लालाई समान रूपमा हेरेर सक्रिय भूमिका निभाउनुपर्ने धारणा राखे।
उनले भने, “प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्रै सीमित हुन पाइँदैन। जिम्मेवारी जति ठूलो हुन्छ, दायित्व पनि त्यति नै बढ्छ।”
साम्पाङले पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनका समान हिस्सेदार भएको उल्लेख गरे। फुटबल टोलीको उदाहरण दिँदै उनले अध्यक्ष मात्र होइन, सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताए।
उनले श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टीको रूपमा व्याख्या गर्दै प्रत्येक सदस्यले श्रमदानमा जोडिनुपर्ने बताए। “एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन्। यो सफलता होइन, निरन्तरताको परिणाम हो,” उनले भने।
पार्टी अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए।
त्यसैगरी, महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले प्रदेश पदाधिकारीहरूलाई एकअर्कासँग नियमित सम्पर्कमा रहन, बैठक सञ्चालन गर्न तथा संगठनलाई लोकतान्त्रिक ढंगले अघि बढाउन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय