
आवरउदयपुर,भदौ ३० ।
उदयपुर जिल्लामा पछिल्ला घटनाक्रमले प्रभावित जनजीवनलाई सामान्य पार्ने र नियमित सेवा प्रवाहलाई सुनिश्चित गर्न आज जिल्ला प्रशासन कार्यालय उदयपुरको पहलमा जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक बसेको छ।
बैठकले हालैको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको छ। यसका लागि सम्बन्धित निकायहरूलाई तत्काल कार्य प्रारम्भ गर्न निर्देशन दिइएको छ। साथै, सेवा प्रवाह अब अवरुद्ध हुन नदिने र नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता बैठकमार्फत जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख प्रेमप्रसाद लुईटेलले बैठकमा बोल्दै आन्दोलनका कारण सर्वसाधारणले भोग्नुपरेको कठिनाइलाई आत्मसात गर्दै अब सहज सेवा प्रवाहमा कुनै अवरोध नआउने स्पष्ट पार्नुभयो। उहाँले जनजीवन सामान्य बनाउने काममा सबै कार्यालय प्रमुखले जिम्मेवारीपूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
यससँगै जिल्लामा प्रशासनिक कामकाजलाई चुस्त-दुरुस्त बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ।