
उदयपुर, असोज ३
हालै भएको जेनजी आन्दोलनका क्रममा सरकारले अत्यधिक बल प्रयोग गरी कयौं युवाको ज्यान लिएको घटनाप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का एक नेता विजय घिमिरेले पार्टीबाट दिएको राजीनामामा अझै अडिग रहेको घोषणा गरेका छन्।
उनले आन्दोलनपश्चात भोलिपल्टै पार्टी परित्याग गरेको र त्यस निर्णयमा कुनै पनि प्रकारको द्विविधा नरहेको स्पष्ट पारेका छन्। “पार्टीमै रहिरहनु भएका साथीहरूको योगदान र मेहनतलाई म सम्मान गर्छु। तर, म फेरि पार्टीमा फर्कने सोचमा छैन,” नेताले फेसवुक स्टाटस मार्फत बताएका छन्।
उनका अनुसार, एमालेको हालको नेतृत्व अहंकारी बनेको र आलोचनात्मक आवाजलाई पनि सहन नसक्ने प्रवृत्ति बढ्दो क्रममा छ। “आजको परिस्थितिमा नेतृत्वप्रति सामान्य आलोचना गरे मात्र पनि पार्टीभित्र बस्न नसक्ने वातावरण बनेको छ। त्यस्तो अवस्थामा फर्किनुको कुनै औचित्य म देख्दिनँ,” उनले उल्लेख गरेका छन्।
पार्टीभित्र सुधारप्रति अझै पनि धेरै साथीहरू आशावादी रहेको तर मौनताले मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ छ। उनले भने, “हिजो नेतृत्वलाई अहंकारी बनाउन योगदान गर्ने तत्वहरू आज फेरि सक्रिय भएका छन्। त्यसैले सक्नुहुन्छ भने त्यस्ता समूहलाई परास्त गरेर नयाँ परिस्कृत एमाले निर्माणमा लाग्नुस्।”
राजीनामा फिर्ता लिन आग्रह गर्ने अग्रज र सहकर्मी साथीहरूलाई धन्यवाद दिंदै उनले हाललाई स्वतन्त्र नागरिकको हैसियतमा गुण वा दोषको आधारमा समर्थन वा विरोध जनाउने अधिकार सुरक्षित राख्ने बताएका छन्। साथै, भविष्यमै उचित वातावरण बनेमा सहकार्य सम्भावना ननकार्दै उनले सशक्त र सुदृढ पार्टी निर्माणको शुभकामना व्यक्त गरेका छन्।