उदयपुर, असोज २, उदयपुरगढी गाउँपालिकाले प्रशासनिक सुधार तथा सेवा वितरणलाई प्रभावकारी बनाउन थुप्रै कामहरु अघि सारेको छ। गाउँपालिका प्रशासन प्रमुख भक्तबहादुर राईको नेतृत्वमा कार्यालयका भौतिक संरचना, कार्यशैली तथा कानुनी व्यवस्थामा उल्लेखनीय सुधार भएको पालिकाले जनाएको छ।

गाउँपालिकाको कृषि विकास शाखा, पशु सेवा शाखा र स्वास्थ्य शाखामा फल्स सिलिङ जडान गरेर कार्यकक्ष व्यवस्थित बनाइएको छ। त्यस्तै, सभा हलमा अव्यवस्थित रूपमा रहेका ठूला टेबल–कुर्सी हटाई सोफा र टि–टेवलको व्यवस्था गरेर आकर्षक बनाइएको छ।

प्रशासनिक सुधारतर्फ, प्रत्येक महिनाको दोस्रो शुक्रबार वडा सचिव, स्वास्थ्य चौकी इन्चार्जसहित सबै कर्मचारीहरुको स्टाफ मिटिङ सुरु गरिएको छ, जसमा प्रगति समीक्षा, भावी योजना र समस्याबारे छलफल हुने पालिकाले जनाएको छ। साथै, चेकलिष्टमा आधारित वस्तुगत प्रगति मापन प्रणाली लागू गरिएको छ।

पालिकाले प्राविधिक कर्मचारीलाई एक/एक वटा वडा जिम्मेवारी दिने प्रणाली अपनाएको छ भने इन्जिनियरले समन्वय गर्ने व्यवस्था मिलाइएको छ। कर्मचारीहरुको उपस्थिति व्यवस्थापनका लागि ई–हाजिरी सफ्टवेयर र हार्डवेयर जडानको काम सकिएको र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

योजना तथा कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न कार्यतालिका निर्माणको काम थालिएको छ। अनलाइन जन्मदर्ता प्रणालीलाई चुस्त राख्दै दर्ता भएका विवरण सही भएमा प्रतिलिपि दिने व्यवस्था समेत मिलाइएको छ।

यसबाहेक पालिकाले विभिन्न कानुनी कार्यविधी समेत निर्माण गरेको छ, जसमा करार सेवाका कर्मचारीको सेवा सुविधा, कृषि विकास कार्यक्रम सम्बन्धी एकीकृत अनुदान, छात्रवृत्ति वितरण, टोल विकास संस्था गठन, प्राविधिक फिल्ड भत्ता, विपद् व्यवस्थापन तथा आर्थिक सहायता, साथै “सुत्केरीलाई साथ गाउँपालिकाको हात” कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधीहरु समावेश छन्।

पालिकाका प्रशासन प्रमुख भक्तबहादुर राईले “गाउँपालिकालाई व्यवस्थित र जनमैत्री बनाउन सुधारका कामलाई प्राथमिकता दिइएको” बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय