
आवरउदयपुर,भदौ १० ।
त्रियुगा – हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा त्रियुगा नगरपालिकाले आयोजना गरेको खुल्ला नृत्य प्रतियोगितामा उदयपुर जुम्वा फिट्नेस थरुहट रंगशाला टिम प्रथम भएको छ।
गाईघाटको पिपल चौकमा सम्पन्न कार्यक्रममा हजारौँ दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो। कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, उपमेयर महेश्वरी राई, वडा नं. ११ का अध्यक्ष सुमन्त कोईरालासहित प्रदेश–१ की उपसभामुख सृजना दनुवार र प्रदेश सभा सदस्य सम्झना तामाङ विशेष आतिथ्यका रूपमा सहभागी भएका थिए।
झिँगू नेवा पुचले कार्यक्रममा सहभागी तथा दर्शकहरूको लागि निशुल्क खानेपानीको व्यवस्था गरेको थियो।
सहभागीहरूको भनाइअनुसार, तीजकै दिन आयोजना गरिएको यो खुल्ला नृत्य प्रतियोगिता निकै आकर्षक र मनोरञ्जनपूर्ण बनेको छ। साथै, यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।
हरितालिका तीज हिन्दु महिलाले भगवान शिव–पार्वतीको मिलन सम्झेर बस्ने व्रत हो। अविवाहित महिलाले शिवजस्तो आदर्श पति प्राप्त होस् भन्ने कामना गर्छन् भने विवाहित महिलाले आफ्ना पति दीर्घायु, स्वस्थ र सुखी रहोस् भन्ने उद्देश्यले यो व्रत बस्ने परम्परा छ।
यसै अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमलाई नगरवासीले सकारात्मक रूपमा लिएका छन्।