आवरउदयपुर, असार १०
कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राज भण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशमाथि गम्भीर आरोप लगाएका छन् ।
विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले न्यायाधीशले गलत आदेश दिएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
उनले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशल ‘स्टेअर्डर’ दिएको आरोप लगाए । उनले न्यायाधीश फटाहा र जनताको नाममा कलंक भएको उनको आरोप छ ।
प्रदेश खेलकुद बोर्डको सदस्यसचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर फुटबल प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको उनको भनाइ छ ।
स्पष्टीकरण चित्त नबुझेपछि उहाँलाई पदबाट हटाइएको भन्दै उनले न्यायाधीशले बदनियत राखेको आरोप लगाए । आफू जेल जान पनि तयार भएको भन्दै उनले प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।
कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलिपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।
पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका हुन् ।