आवरउदयपुर-२०८२ मंसिर १२
उदयपुर — सङ्घीय सरकार सहरी विकास मन्त्रालयबाट २०८०/०८१ मा एक करोड ५० लाख र २०८१/०८२ मा थप १ करोड रुपैयाँको बजेट व्यवस्था भई माननीय गोपी आच्छामीको पहल तथा समन्वयमा निर्माण गरिएको साझा सेवा घर उदयपुरको आवासीय भवनमा आजदेखि बाल गृह सेवाको औपचारिक सञ्चालन सुरु भएको छ।
नव–निर्मित भवनमा हाल ११ जना बालबालिकाले आवासीय सेवा लिइरहेका छन्। संस्थाको कार्यसमितिमा महिलाहरू मात्र रहेको छ, जसले महिलाको नेतृत्व क्षमता, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई थप विश्वसनीय बनाएको बताइन्छ।
यसैबीच, कोसी प्रदेश सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा साझा सेवा घर उदयपुरका बालक चेस राई दोस्रो भएका छन्। यो उपलब्धिले संस्थाले प्रदान गर्दै आएको शैक्षिक र प्रोत्साहनात्मक वातावरण प्रभावकारी रहेको संकेत गरेको छ।
संस्था दर्ता भएको तीन वर्ष पूरा हुँदै गर्दा नै आफ्नै भवन निर्माण गरी सेवा विस्तार गर्न सफल भएको छ। संस्थाकी अध्यक्ष गीता खड्काका अनुसार सबैको साथ, सहयोग र निरन्तर हौसलाकै कारण साझा सेवा घर निरन्तर सकारात्मक रुपमा अघि बढिरहेको हो। उहाँले प्राप्त विश्वासलाई कहिल्यै खेर नफालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साझा सेवा घर उदयपुर त्रियुगा नगरपालिका–१२, त्रिवेणीटोलमा अवस्थित छ। यसअघि बाल गृह भाडाको घरमा सञ्चालन हुँदै आएकोमा आज मिति २०८२ मंसिर ११ गतेदेखि आफ्नै भवनमा आधिकारिक रूपमा स्थानान्तरण गरिएको हो।






