तुलसी निरौला, झापा। झापामा शनिवारबाट घरबाट बाहिर ननिस्कन आदेश दिइएको छ। झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेसँगै यस्तो आदेश दिएको हो ।
आगामी जेठ ७ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने र त्यसको पूर्ण रुपमा पालना गर्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आग्रह गरेका छन् ।
निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई औषधि खरिद तथा उपचार बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको र अत्यावश्यक सेवा बाहेकका सबै गाडी र पसल समेत बन्द गरिएको उनले बताए। यसअघिको निषेधाज्ञा केही खुकुलो भएपनि झापामा कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले ‘पूर्ण लकडाउन’को आदेश जारी गरी यस्तो जनाएका
हुन्।
सरकारी कर्मचारीलाई समेत हिँड्डुलमा कडाइ गरिएको र औषधि पसल र स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) बाहेक सबै पसलहरु बन्द गर्न आदेश दिइएको छ ।
विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६को उपदफा ३ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।
उनले आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ–संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुने बताए।

यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने बताउँदै उनले आदेश पालना गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय