काठमाडौँ , सन् २०२६ को फिफा विश्वकप सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा स्पेनमा फुटबलको अभूतपूर्व रौनक छाएको छ । आफ्नो राष्ट्रिय टोलीको सम्भावित प्रदर्शनलाई लिएर स्पेनी फुटबल समर्थकहरूले ठूलो उत्साह र भरोसा व्यक्त गरिरहेका छन् ।
आगामी जुन ११ देखि सुरु हुने विश्वकपको यो ऐतिहासिक संस्करण मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् । फुटबलको इतिहासमै पहिलोपटक यसपटक ३२ बाट बढाएर ४८ वटा राष्ट्रिय टोलीहरूले विश्वकपमा सहभागिता जनाउँदैछन् ।
अहिले स्पेनको पक्षमा स्थानीय समर्थक मात्र नभई त्यहाँ भ्रमणमा रहेका विदेशी पर्यटकहरू समेत उभिएका देखिन्छन् । स्थानीय प्रशंसक एडविन कोरियाले कामको व्यस्तताका बाबजुद आफूले स्पेन र साविक विजेता अर्जेन्टिनाको खेलहरू उत्सुकताका साथ हेर्ने र उनीहरूलाई समर्थन गर्ने बताए ।
यस्तै छुट्टी मनाउन स्पेन पुगेका विदेशी पर्यटक एली डानोले स्पेनी खेलाडीहरूको उत्कृष्ट खेल प्रदर्शनको प्रशंसा गर्दै आफू स्पेनको कट्टर समर्थक बनेको उल्लेख गरे । अर्का एक उत्साही समर्थकले स्पेनको वर्तमान युवा टोलीमा विश्वकै उत्कृष्ट प्रतिभाहरू रहेको भन्दै टोलीले यसपटक विश्वकपमा ठूलो सफलता हात पार्नेमा पूर्ण आत्मविश्वास व्यक्त गरे ।
विश्वकपको अन्तिम तयारी स्वरूप स्पेनले बिहीवार राति इराकविरुद्ध पहिलो अभ्यास खेल खेल्दैछ । डेपोर्टिभो ला कोरुनाको प्रसिद्ध रियाजोर स्टेडियममा हुने उक्त खेललाई स्पेनले आफ्नो रणनीतिक तयारी र खेलाडीहरूको सन्तुलन मिलाउने महत्वपूर्ण खुड्किलोका रूपमा लिएको छ ।
स्पेनको राष्ट्रिय टोलीले विश्वकपको मैदानमा उत्रिनु अघि आफ्नो बन्द प्रशिक्षण र रणनीतिका हिस्सा स्वरूप दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय