नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
नेपाल मेडिकल कलेजले नेपालबाट साउदी अरबको मक्का–मदिनामा हज यात्राका लागि जाने नेपाली हजयात्रीहरुलाई आपत्कालिन स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल हज समितिका पदाधिकारीहरुलाई हजयात्राका क्रममा आवश्यक पर्ने औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कलेजले जनाएको छ ।
बुधबार आयोजित कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमदलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै हजयात्रीहरुको सफल तथा सुरक्षित यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले हज मुस्लिम समुदायका लागि पवित्र धार्मिक यात्रा भएको उल्लेख गर्दै गत वर्षझैं यस वर्ष पनि नेपाली हजयात्रीहरुको यात्रा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले हजयात्राका क्रममा आउन सक्ने सम्भावित स्वास्थ्य समस्या तथा व्यवस्थापनका विषयमा समितिसँग आवश्यक समन्वय गर्न कलेज तयार रहेको समेत बताउनुभयो ।
त्यसैगरी, नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमदले गत वर्ष नेपाली हजयात्रीहरुको व्यवस्थापन प्रभावकारी भएको भन्दै साउदी अरब सरकारले नेपाल हज समितिलाई सम्मानका लागि छनोट गरेको जानकारी दिनुभयो । यस वर्ष पनि हजयात्रीहरुलाई कुनै समस्या नआउने गरी सम्पूर्ण तयारी गरिएको उहाँको भनाइ छ ।
साउदी अरब सरकारले नेपालबाट हरेक वर्ष करिब १२ सय जनालाई हज यात्राका लागि कोटा उपलब्ध गराउँदै आएको छ । यस वर्ष आउँदो शनिबारबाट हजयात्रा सुरु हुने अध्यक्ष मोख्तारले जानकारी दिनुभयो ।
समितिले देशभरका मुस्लिम नागरिकबाट आवेदन आह्वान गरेअनुसार यस वर्ष १ हजार २ सय ५६ जनाले आवेदन दिएका थिए । तीमध्ये प्राथमिकताका आधारमा १ हजार २ सय जना छनोट गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय