काठमाडौं, फागुन १३
आफ्नै बुबासँग पाँच लाख रुपैयाँ माग्न अपहरणको नाटक गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना पक्राउ परेकी हुन् ।
विद्या सोमबारबाट बेपत्ता भएकी थिइन् । बुधबार ९फागुन १२०मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो, ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’
म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो ।
अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । अपहरण नभई आफै नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्केकी थिइन् ।
चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडेकी थिइन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो बाँकी पैसा तिर्नका लागि आफ्नो बुबासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।