आवरउदयपुर,कार्तिक १६ ।
थाइल्याण्डले हमालसले इजराइल हमलामा बन्धक बनाइएका २२ थाई नागरिकको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको छ ।

थाई प्रतिनिधिमण्डलले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका थिए । भेटमा हमासले थाई बन्धकलाई ‘उचित समय’ मा रिहा गरिने बचन दिएको बताइएको छ ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले सुरु गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय मानिसको ज्यान गएको थियो । हमासले दुई सय ३० भन्दा बढीलाई बन्धक बनाएको थियो ।

जवाफमा इजराइली सेनाले गाजामाथि हमला गर्दा आठ हजार सात सयभन्दा धेरै गाजाबासी मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । थाई संसद्का अध्यक्षद्वारा नियुक्त तीन सदस्यीय वार्ता टोलीको नेतृत्व गर्ने अरिपेनले इरानमा हमासका अधिकारीहरूसँग दुई घन्टा बैठक बसेको जानकारी दिए ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले थाई बन्धकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताए । साथै विदेशमन्त्रीले यसै साता कतार र इजिप्टसँग उनले कुराकानी गरेका थिए ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले खाडी क्षेत्रको स्थितिको ‘जटिलता’ भए पनि बन्धकहरूलाई मुक्त गराउने प्रयासलाई अगाडि बढाइरहेको बताए ।

प्रधानमन्त्री थाभिसिनले बुधबार राति इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गरेका थिए ।

नेतान्याहुको कार्यालयले इजराइलका सबै बन्धकलाई मुक्त गराउन सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री थाभिसिनलाई आश्वासन दिएको बताएको थियो ।

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाईको मृत्यु र १९ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय