
आवरउदयपुर,अशोज ५ । सरकारले असोज १५ बाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
चाडपर्वमा अन्य समयभन्दा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई सहज आपूर्ति गर्न र बजार मूल्य नियन्त्रण गर्न सरकारले विगतदेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सुपथ मूल्य पुल यही असोज १५ देखि छठ पर्वसम्म देशका विभिन्न स्थानमा सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख राजेन्द्र ठाकुरले जानकारी दिए ।
विगतमा जस्तै यो वर्ष पनि उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति र सुपथ मूल्यमा उपलब्ध गराउन छलफल भइरहेको उनले बताए ।
खाद्य व्यापार कम्पनीले देशभरका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका ७ स्थानमा पसल खोल्नेछ । साथै चार वटा मोबाइल भ्यानमार्फत घुम्ती सेवा पनि सञ्चालन हुनेछ ।
साल्ट ट्रेडिङले सतुंगल, कालिमाटी, पाटन, कोटेश्वर, बालकुमारी, भक्तपुर र लगनखेलमा पसल सञ्चालन गर्ने गरेको थियो । यस वर्ष थप दुई ठाउँ कौशलटार र चाबहिलको सिफलमा पनि सञ्चालन गरिने भएको छ ।