आवरउदयपुर,भदौ ९ ।
धरानमा दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गर्दौ धरान प्रवेशमा कडाइ गरेको छ ।
विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्याली आयोजना गरेका छन् । यही धार्मिक र्याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको हो । सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ । धरानबाट बाहिर जानलाई भने रोक लगाइएको छैन ।
निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं. बाट बराहक्षेत्र वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ ।
त्यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानी पिया देखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ ।
धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पुर्व मेयरहरु, नागरिक अगुवाहरुले सबैलाई संयम अपनाउन अपिल गरेका छन् ।