आवरउदयपुर,साउन ३० ।
मुगुमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि जिल्ला अस्पतालमा लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।
साथै दुर्घटनामा परी घाइते सोरु–७ का चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु–६ का सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उदीप बोहराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।
घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने अवस्थामा भएपनि वर्षाका कारण कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ ।






