
आवरउदयपुर,साउन २१
बौद्ध धर्मालम्बिहरुलाई लक्षित गरी उदयपुरको त्रियुगा नगरपालिका १६ माथिल्लो व्याङग्रीमा निर्माण गरिएको पेम्वा छैइलिङ्ग गुम्बाको मंगलबार उद्घाटन गरिएको छ ।
धर्मगुरु धर्मसिङ्ग तामाङ्गले आफ्नो संस्कृति अनुसार बिधी पुजापाठ गरेलगत्तै कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले गुम्वाको उद्घाटन गरेकी हुन् । गुम्वा भवनसँगै शान्तिका अग्रदुत गौतम बुद्धको मुर्तिसमेत प्रतिस्थापन गरिएको छ । तामाङ्ग समुदायको वाहुल्यता रहेको उक्त क्षेत्रमा गुम्बालाई पाठशालाकोरुपमा विकास गर्ने लक्ष्यकासाथ सुरु गरिएको अध्यक्ष कृष्णकुमार तामाङ्गले बताए । उनले भने, ‘तत्काल पाठशाला सञ्चालन गर्न नसकेपनि लक्ष्य बोकेका छौ, कहीँ कतैबाट साथसहयोग पाए सुरु गर्छौ ।
बौद्ध धर्मालम्बिहरुको आश्थाको केन्द्र बनाउने उदेश्यकासाथ कोसी प्रदेश सरकारको १० लाख, त्रियुगा नगरपालिकाको चार लाख ३० हजार र जनश्रमदानवापत दुई लाख दुई हजार दुई सय १२ गरी १६ लाख ३२ हजार २१२ रुपैँयाको लागतमा गुम्वा निर्माण गरिएको सचिब हिरालाल लामाले बताए ।
नवनिर्मित गुम्वाको उद्घाटन गर्दै उपसभामुख दनुवारले सबै धर्म, आश्था र विचारहरुलाई सम्मान र समेटने गरी गुम्बालाई विकास गर्न आग्रह गरिन् । उनले नेपाल एउटा मिश्रित जातजातिको बसोबास रहेको देश भएकाले सबै धर्म र संस्कृति प्रतिको सम्मानले मात्र विकास सम्भव भएको बताईन् ।
उपसभामुख दनुवारले केन्द्रिय सरकारको संकुचित मानसिकताका कारण संघीयता कार्यान्वयमा चुनौती थपिएको बताईन् । उनले भनिन्, ‘जनताले आन्दोलन गरेर ल्याएको परिर्वतनलाई प्रदेश र स्थानीय सरकारलाई अधिकार वाँडफाँड नगर्दा जनता थप मर्कामा परेका छन् ।
‘आज केन्द्रिय सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिएर वलियो बनाउने पंक्षमा देखिदैन्, उनले भनिन्, ‘बरु उल्टै विनियोजन गरेको वजेट कटौती गरेर आफ्नो मुठ्ठीमा राखेर कब्जा जमाईरहेको छ, यसले के सन्देश जान्छ ?
कोसी प्रदेश सरकार गठनतर्फ लक्षित गर्दै उपसभामुख दनुवारले भनिन्, ‘कोसी प्रदेश सरकार जनताको विकास र समृद्धीसँग नभई कुर्सीका लागि सप्तकोसी मडारिए झै मडारिँदा जनतामा निराशा पैदा भएको छ । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गितदेवी रेग्मीले सिमित स्रोतसाधनले जनताका इच्छा, चाहाना अनुसारका विकास निर्माणका काम गर्न नसकिएको बताईन् ।
उनले संबिधानले तीन तहको सरकारको कल्पना गरेपनि अधिकार वाँडफाँडमा केन्द्रिकृत शासन व्यवस्थाका कारण सोचेअनुरुप विकास हुन नसकेको बताईन् । अर्का प्रदेश सांसद सम्झना पाख्रिनले विकास एकै पटकमा सम्भव नहुने भएकाले ठुला महत्वकांक्ष नराख्न आग्रह गरिन् ।
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकासमा समानता हेरेर ठाउँ, विशेष र परिवेशका आधरमा नगरले विकासलाई अगाडी बढाउने बताईन् । उनले मानविय विकास सँगै भौतिक पुर्वाधारको विकासलाई प्राथामिकता दिईन् बताईन् ।
कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष मानबहादुर राई, नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरु इश्वरमणि राउत, भागवत राउत, जिल्ला समन्वय समितिका सदस्य गोमा कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, धर्म गुरु धर्मसिंह तामाङ्ग लगायतले विकासमा राजनीतिक आश्था र विचारलाई पर राखी सहयोग आदानप्रदान हुनु पर्नेमा जोड दिए ।
उनीहरुले नागरिकको आवश्यकताका आधारमा सहकार्य गर्दै एकताबद्ध ढंगले अघि बढ्न सके विकासमा कहिँ कतै समस्या नहुने बताए । उनीहरुले समाज परिवर्तनको दिसातर्फ अग्रसर भएकाले उपलब्ध विकास वजेटलाई अधिकतम सदुपयोग गर्नु पर्नेमा जोड दिए ।