आवरउदयपुर,असार २४ ।
हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुबहादुर शाही र वडाध्यक्षसहित ८ जना बिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।
मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम विनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएको वडा नम्बर २ स्थित खानेपानीको ट्याङ्की निर्माणको क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
शाहीले आर्थिक वर्ष २०७८÷०७९ मा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने निष्कर्षमा अख्तियार पुगेको छ ।
देवकोटाबाडास्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नभएको भएपनि भुक्तानी दिई उनले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । सो कार्यमा पालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोबर्धन बोहोराको समेत संलग्नता रहेको देखिएको छ ।
सोही घटनामा लेखापाल नवीन रेग्मीले पनि झुट्टा बिल भरपाईको आधारमा भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ । चंखेली गाउँपालिका वडा नं.२ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्यायले काम भएको भनी सिफारिस गरेकाले उनी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
यसैगरि खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) लाई समेतलाई पनि दोषी देखाउँदै मुद्दा दायर गरिएको । उनीहरूबाट बिगो माग दाबी सहित आइतबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।