
आवरउदयपुर,असार २३।
नुवाकोटको ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् ।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि पानी निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए ।
हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ । तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ ।
सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए ।
यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले बताए । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।
हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया अगाडि बढेको उनले बताए । उनका अनुरसार त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियामा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।
कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब रु १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ ।