आवरउदयपुर,असार १२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फेसबुकमा सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।
मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई विभिन्न आरोप लगाउँदै फेसबुकबाट ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
महानिर्देशक अधिकारीले भने मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताए ।
उनले स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका रहेको भन्दै फेसबुकभरी सोधिएका स्पष्टीकरणको जवाफ नदिने बताए ।
महानिर्देशक अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा विमति राखेका कारण आफूलाई स्पष्टीकरण सोधिएको पनि आरोप लगाए ।
हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा १५ करोड रुपैयाँ खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको र निर्माणाधीन उक्त हेलिपोर्ट यही असारबाट नै सञ्चालनमा ल्याउने तयारी हुँदै गर्दा अधिकारीले निजी क्षेत्रलाई हेलिपोर्ट दिन आवश्यक नरहेको भन्दै विमतिमा राख्दै आएका छन् ।