आवरउदयपुर, जेठ २५
कोशी नामकरणको विरोधमा उत्रिएका आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् ।
उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताए । रानाले आफू सवार गाडीमा मुढाले बाटो छेकेर गाडीमा मोबिल हाल्नुका साथै ढुंगा प्रहार भएको बताए ।
पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उनी चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए । त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।
फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय संगठन आन्दोलनमा रहेका छन् ।
आन्दोलनरत पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले बुधबार मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।