आवरउदयपुर,वैशाक १३
न्यायनिरुपणमा सहज होस भन्ने हेतुले उदयपुरको त्रियुगा नगरपालिकाका न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्ताहरुलाई तालिम दिइएको छ । गाउँघरमा वढ्दै गएको घर्यासी झगडालाई वडा तहमा नै मेलमिलापमार्फत समाधान खोज्ने गरी न्यायिक समितिका सदस्य र सुचीकृत मेलमिलापकर्ताको क्षमता अभिवृद्धी गर्ने गरी तालिमको आयोजना गरिएको हो ।
स्थानीय स्तरमा नै समाधान हुने सामान्य झगडासमेत न्यायिक समिति र प्रहरी कार्यालयमा पुग्न थालेपछि वडातहमा नै समाधान गर्न तालिमको आयोजना गरिएको न्यायिक समितिका संयोजक तथा उपमेयर महेश्वरी राईले बताईन् ।
तालिमको उद्घाटन गर्दै उनले भनिन्, ‘सानातिना कतिपय घटना दुबै पंक्षलाई झिकाएर त्यहीँ समाधान गर्न सकिन्छ, तर त्यसो नगरी एकैपटक न्यायिक समिति र प्रहरीकामा पुग्ने परम्पराको विकास भयो आशा छ यो तालिमले त्यसको अन्त्य हुने छ ।’
‘न्यायिक समितिको क्षेत्राधिकार भन्दा वाहिरका ऐलानी जग्गा, लेनदेन जस्ता मुद्दाका घटना पनि मिलाई दिनु पर्यो भन्दै आउनु् हुन्छ,’ संयोजक राईले भनिन्, ‘मुद्दाको प्रकृति र चाँप हेर्ने हो भने न्यायिक समितिका संयोजकले अन्य केही काम गर्न सक्ने अवश्था छैन, त्यसैले चाँप कम गर्न र कुन मुद्दामा कहाँ जाने हो भन्ने जानकारी र समाधानको उपाय अव वडा तहबाटै हुने छ ।’
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुभक्त सिग्देलले ढिलो न्याय दिनु न्याय नभएकाले छिटो र सहज ढंगले दुबै पंक्षको जित हुने गरी न्याय सम्पादनका कामलाई अगाडी बढाउन आग्रह गरे । प्रोपव्लिकका सहजकर्ता कविता पाडेले स्थानीय स्तरका विवाद स्थानीय स्तरमा नै खोज्न सके समाजलाई परिवर्तनको दिसामा समेत लैजान सहज हुने बताए ।
वडाध्यक्ष राजकुमार राउतले तालिमले विवाद समाधानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले न्यायिक तथा अर्धन्यायिक निकायबाट दिईने न्याय खर्चिलो, समय लाग्ने र झन्झटिलो भएकाले स्थानीय तहबाट हुने न्यायनिरुपणले जनतालाई तत्काल समाधान हुने बताए ।
जनहित संरक्षण मञ्च (प्रोपव्लिक)को प्रशिक्षण एवंम प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका न्यायिक समितिले आयोजना गरेको तालिममा सूचिकृत दश जना मेलमिलापकर्ता, प्रत्येक वडाबाट दुई जनाका दरले ३२ जना र न्यायिक समितिका दुई गरी ४४ जनाको सहभागिता रहेको छ ।
ओरेक नेपालको सभाहलमा आठ दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण प्रोपव्लिकका सहजकर्ता अधिवक्ता कविता पाडे र जिल्ला न्यायाधिशहरुले दिने कार्यक्रम रहेको संयोजक राईले जाकारी दिईन् ।






