आवरउदयपुर,बैशाक ८
उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन १७ बुँदे सुझाब पेस गरिएको छ ।
नगरपालिकाले दोस्रो चौमासिक भित्र गरेका कृयाकलापमा आधारित रहेर तेश्रो पंक्ष सुशासनका हिमायती (जीक्यु)ले स्थलगतरुपमा गरेको सर्वेक्षणको प्रतिवेदनमा यस्तो सुझाब पेस गरिएको हो । उक्त प्रतिवेदन सार्वजानिक सुनवाई कार्यक्रमको आयोजना गरी सार्वजानिक गरिएको हो ।
दश वटा मुल बिषयमा आधारित रहेर एक सय जनामा सोधिएका ४७ वटा प्रश्नको सर्वेक्षणमा धेरैजसोले मिश्रित प्रतिकृया दिएका छन् । सोधकर्ताहरुले नगरपालिकाको सेवा, सुबिधामा सन्तुष्ट हुनु हुन्छ, कर्मचारीको व्यवहार कस्तो छ, अतिरिक्त शुल्क लिने गरेको छ या छैन, कामका लागि कतिपटक धाउनु भयो, कसको सहायता लिनु भयो जस्ता प्रश्न सोधिएका थिए । जवाफमा उनीहरुले मिश्रीत खालका प्रतिकृया दिएको प्रतिवेदनले देखाएको छ ।
नगरपालिकाको सेवालाई प्रभावकारी बनाउन कस्तो भुमिका निर्वाह गर्नु पर्छ भन्ने सवालमा प्रतिवेदनको पहिलो बुँदामा जनप्रतिनिधि र कर्मचारी कार्यालय समय नबसेको प्रति लक्षित गर्दै धेरैजसो समय नगर र वडामा बस्नुपर्ने वा विकल्पमा कार्यवाहक दिनु पर्ने बताएका छन् ।
उनीहरुले साना योजना वडा तहमा नै सम्झौता र सम्पन्नता समेतको अख्तियारी हुनुपर्ने, सिप र रोजगार मुलक कार्यक्रम सञ्चालन, योजना संचालन प्रत्यक्ष प्राविधिकको निगरानिमा हुनुपर्ने, अनुगमन नियमित र प्रभावकारी बनाउनु पर्ने, शाखा सडकहरु र नालाको विकास र विस्तार गर्नु पर्ने सुझाब दिएका छन् ।
त्यसैगरी विकासलाई द्रुतगतिमा लैजानु पर्ने, सेवाप्रवाहको सूचना प्रभावकारी हुनुपर्ने, गरिब परिवारको पहिचान गरी राहत वितरण, सिसि टिभिको व्यवस्थापन सडक र वडा कार्यालय सम्म हुनु पर्ने, सार्वजानिक शौचालयको विस्तार, कार्यालय वरपर सरसफाइ र हरियाली हुनु पर्ने, कार्यालयबाट बिल भुक्तानी र फछ्र्यौट चाँडो हुनु पर्ने लगायतका छन् ।
सार्वजानिक सुनवाई पूर्व स्थलगतरुपमा गरिएको सर्वेक्षणमा वडा कार्यालय भवन निर्माण भई प्रभावकारी सेवा प्रवाह, नजिकै सेवा प्राप्त, गुनासो र उजुरी तत्काल, सिधैं र सहजै राख्न सकिने, प्रसस्त कर्मचारी र नजिकै जनप्रतिनिधि, सर्वसाधारणको सेवा प्रदायक संग सरल, सहज र सिधा पहँुच पुग्नु राम्रो पंक्ष भएको बताइएको छ ।
नगरपालिकाले आर्थिक बर्ष ०७९÷८० मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यकासाथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको मेयर बसन्त बस्नेतले बताए ।
उनले नगरपालिकाले स्वास्थ्य, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथोँ गर्दै प्राथमिकतामा राखेको बताए । यसमध्ये स्वास्थ्यतर्पm उल्लेखिय प्रगति भएको मेयर बस्नेतको दावि छ । उनले भने, ‘हिजोसम्म सरकारी अस्पताल रेफर सेन्टर थियो, आज विशेषज्ञसहितको सेवा प्रवाह मात्र छैन, उपचारका लागि वाहिर जानेक्रम रोकिएको छ ।
नगरपालिकाको आर्थिक, प्राविधिक, जनशक्ति र समन्वयकारी सहयोगकैकारण अस्पतालमा धेरै सुधार आएको उनको दावि छ । मेयर बस्नेतले भौतिक पूर्वाधारले मात्र मानव र हाम्रो समाजको सर्वाङिण बिकास नहुने भएकाले नगरका जनतालाई आत्मनिर्भर बनाउन बिकासका सबै सूचकमा अव्वल बनाउने योजनासहित काम सुरु गरिएको बताए । उनले कर्तव्यबाट कोही पनि विमुख नरहने गरी आगामी जेठ १५ गते भित्र सबै योजनाका काम सम्पन्न गर्न अनुरोध गरेका छन् ।
उममेयर महेश्वरी राईले अधिकतम जनताको गुनासो नआउन भन्ने हेतुकासाथ योजनावद्ध ढंगले नगरपालिकाले सेवा प्रवाह गरेको बताईन् । स्थानीय सरकार सञ्चालनको अभ्यास नहुँदा सुरुमा केहि कठिनाई भएपनि पछिल्ला दिनमा जनप्रतिनिधि सबैले लय समातेर काम गरेको बताईन् ।
उपमेयर राईले जनताको मनछुने र जीविकोपार्जनमा मद्धत पुग्ने गरी योजना र क्रियाकलापहरु अघि सारिएको बताईन् । उनले सामान्य नागरिकको दैनिक जीवनस्तर उकास्न, वृतिविकास गर्न र व्यवसायिक बनाउनका लागि आवश्यकता, औचित्य र रोजाईका आधारमा तालिम र योजनाहरु सुरु गरिएको बताईन् । उनले सार्वजानिक सुनवाई ऐना भएकाले आएका सुझाबलाई ग्रहण गरी थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सहभागिहरुले सडक, नाली, पुल निर्माण, लालपुर्जा वितरण, जग्गा नापीलाई प्रभावकारी बनाउनु पर्ने, फुसको छानो हटाउने कार्य, बालबालिका लक्षित कार्यक्रम, समानुपातिक, समावेशी सिद्धान्त अवलम्वन गर्न सुझाब दिएका छन् ।
कार्यक्रममा सहजिकरण संस्था मानवअधिकारकर्मी भरत खड्काले स्थलगतरुपमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी सामाजिक शाखा प्रमुख राजकुमार खड्काले प्रदेश सरकारको सहयोगमा सञ्चालित मुसहर समुदायको चौतर्फी विकास परियोजनाको उपलब्धि, हाल भईरहेका क्रियाकलाप र बाकी कामका बिषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय