आवरउदयपुर, माघ १०
उदयपुरका तामाङ समुदायले यस बर्षको सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रमको आयोजना गरी आईतबार मनाएका छन् ।
जिल्लाको कटारी, रौतामाई, त्रियुगा, चौदण्डिगढीसहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासकासाथ सोनाम ल्होछार मनाएका हुन् । ल्होछारको अवसरमा कटारी नगरपालिका ३ राजावस स्थित साङ्घे छोयालुङ् वौद्ध गुम्वामा विशेष महत्वकासाथ मेलाको आयोजना गरिएको छ ।
नेपाल तामाङ् घेदुङ जिल्ला र कटारी नगर संघको संयुक्त आयोजनामा पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी प्रदर्शन गरिएको छ । सोही अवसरमा उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अम्वरबहादुर रायमाझीलाई सम्मान गरिएको संघका अध्यक्ष राजकुमारी घिसिङले बताईन् ।
कार्यक्रममा बोल्दै सांसद रायमाझीले तामाङ संस्कृति, संस्कार, इतिहास जगेर्णाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘नेपालको संविधानले बहुजाति, बहुभाषी, बहुसांस्कृतिकतालाई सम्बोधन गरिसकेको हुनाले यस्ता चाडवाडले देशलाई एकताको सुत्रमा बाँध्ने छ ।
उनले वहुपहिचान बोकेको आफ्नो क्षेत्रको धर्म, संस्कृति, रितिरिवाज, परम्पराको जगेर्णा गर्दै विकास निर्माणलाई गतिशिल दिने विश्वास व्यक्त गरे । सो अवसरमा सांसद रायमाझीले त्यस क्षेत्रका दुई वटा गुम्वालाई लामाले वजाउने एक लाख मुल्य बराबरको घ्यालिङ बाध्यवाजनका सामग्री प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तीहरुलाई सम्मान गरिएको अध्यक्ष घिसिङले बताईन् । यसलाई हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्वकोरुपमा लिने गरिन्छ ।
किसानहरूले बालिनाली उठाएपछि मनाइने यो एकदमै पुरानो चाड हो । नयाँ वर्षको रुपमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले ग्याल्पो लोछार सम्बोधन गर्दछन् भने तामाङहरूले सोनाम लोछार पुकार्दछन् । ‘ल्हो’ अर्थात बाह्र वटा पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । यस वर्ष ‘बिरालो (तावर) ल्हो’ हो ।
तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । यस दिनलाई यो समुदायले नयाँ वर्षकोरुपमा समेत मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार यस दिनदेखि २८५९ औं वर्ष शुरु भएको छ । यस दिनदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय