आवरउदयपुर,माघ ३
उदयपुरको त्रियुगा नगरपालिका–१० का अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा कार्यालयको वजेटबाट वडामा रहेका शारिरीक, मानसिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, ६० बर्ष माथिका दलित र ६८ बर्ष माथिका जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
चिसो बढ्दै जाँदा जेष्ठ नागरिक, असाहय व्यक्तिको दैनिकी कष्टकर बन्दै गएकाले वच्नका लागि फाईवरको सिरक वितरण गरिएको वडाध्यक्ष किरण पाण्डेले बताए । तोकिएको मापदण्ड अनुसार वडाभित्र रहेका ५ सय ३० जनालाई सिरक वितरण गरिएको उनले बताए ।
उनले भने, ‘मापदण्ड अनुसार सबैलाई वितरण गरिएको छ, केहि छुटन गएका भए पुनः वितरण गरिने छ । थपे, ‘धेरैको माग सुरुमा रेडियो आयो, तर पछिल्लो समय चिसो बढ्दै जाँदा सबैले सिरक नै माग्नु भयो, आगामी बर्ष रेडियो, जेष्ठ नागरिकको सहार लौरो, चस्मा उहाँहरुकै रोजाईअनुसार वितरण गरिने छ ।
चिसोले जेष्ठ नागरिक, शारिरीकरुपले अशक्त, एकल महिला कठ्याङ्ग्रीन थालेपछि वडाले ‘नागरिक बचाउँ अभियान चलाएको पाण्डेले बताए । जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै नगर प्रमुख बसन्तकुमार बस्नेतले नगरभित्रका नागरिक वचाउनु जनप्रतिनिधिको कर्तव्य भएकाले लक्षित कार्यक्रमबाट खर्च गर्ने गरी न्यानो कपडा वितरण गरिएको बताए ।
उनले भने, ‘नागरिकको ज्युँधनको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबै जेष्ठ नागरिक, असाहयक, गरिवलाई सबै वडाबाट सहयोग पुग्ने गरी न्यानो कपडा वितरण गरिने छ । उपमेयर महेश्वरी राईले जनताको चाहाना र भावना अनुसारका काम गर्नु नै विकास भएको बताईन् ।
उनले भनिन्, ‘संबिधानले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गरेकाले, जेष्ठ नागरिकलाई सिजनमा आउने समस्यालाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गरेका हौ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले चिसोबाट जोगाउन विपद् व्यवस्थापन समितिले सबै स्थानीय तहसँग समन्वय गरेको बताए ।
उनले चिसोमा सर्वसाधारण घरबाट वाहिर निस्कन नसक्ने, जतिबेला पनि घुर, आगो तापेर बस्दा कतिपय अवश्थामा जिउमा आगोसमेत सल्किने खतरा बढेकाले सुरक्षितसाथ राख्न विपद् व्यवस्थापन समितिले पहलकदमी थालेको बताए ।
नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणि राउतले जेष्ठनागरिकलाई न्यानो कपडासँगै औषधिउपचारमा ध्यान दिनु पर्ने बताए । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गरेको मासिक १ सय रुपैँया भत्ता चार हजार पुगिसकेको अवश्थामा उनीहरुलाई उपचार सेवामा थप सहज पुर्याउनु पर्ने बताए ।