आवरउदयपुर मंसिर १९
उदयपुरका पत्रकार गजेन्द्र राई तीन दिन भित्र रिहा गर्न नेपाल पत्रकार महासंघ लगायतका संघसंगठनले गृहप्रशासनलाई अल्टिमेटम दिएका छन् ।
पत्रकार महासंघ उदयपुर शाखाको अगुवाईमा आधा दर्जन संचार सम्बद्ध अगुवा संघसँगठनले आईतबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई अल्टिमेटमसहितको ध्यानाकर्षण बुझाएका हुन् ।
विशुद्ध समाचार लेखेकै विषयमा ‘साईबर क्राईम’ गरेको अभियोगमा उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा नियन्त्रणमा लिएर राखेको आठौँ दिन वितिसक्दासमेत रिहा नगर्नुले पत्रकारलाई थप आन्दोलित गराउन सरकार उद्धत रहेको बताइएको छ ।
‘नातामा ससुरा-बुहारीबीच अनैतिक सम्बन्धको आरोप लगाउँदै स्थानीयले दिएको प्रमाण, अभिव्यक्ति र सामाजिक रोहबरमा गरेको आरोपितद्वयको स्वीकारयुक्त कागजसमेत गरी प्रसस्त आधार प्रमाणसहित प्रकाशित/प्रशारित भिडियो सामग्री नितान्त समाचार लेखेको बिषय भएकाले समाचारका पात्रहरु उर्मिला राउत र युवराज कार्कीको मिलेमतोमा परेको साईबर क्राईम मुद्धामा आकर्षित हुँदैन् । ध्यानाकर्षणपत्रमा भनिएको छ ।
त्यसअघि भनिएको छ, ‘यो प्रेस काउन्सिल नेपालको अधिकारक्षेत्रभित्र पर्ने भएकाले प्रहरीले त्यसतर्फ कुनै समन्वय नगरी गिरफ्तार गर्नुले नेपालमा साईबर क्राईम ऐन कार्यान्वयन गर्ने काम नितान्त पत्रकारलाई ‘तह लगाउने’ बदनियतपूणर् कार्य हो भन्ने हाम्रो ठहर छ ।
‘सामाजिक बिकृति, विसंगतिबिरुद्ध कलम चलाउनु कुनै पनि पत्रकारको पेशागत धर्म र कर्तव्यसमेत भएकाले कुनै पनि पत्रकार र ऊसँग सम्बन्धित सञ्चार जगतमाथि आईपर्ने गतिबिधिबिरुद्ध महासंघले डटेर सामना गर्दै आएको छ र यो घट्नामा पनि चुप लागेर बस्न सक्दैन । ध्यानाकर्षण पत्रमार्फत चेतावनी दिइएको छ ।
साथै ३ दिनभित्र बिनाशर्त रिहा गरी उनीमाथि लागेको अभियोगको छानविन गर्र्ने जिम्मा पत्रकार र पत्रकारिताक्षेत्रको छानविन, कारबाही र नियमन गर्ने अधिकार प्राप्त अद्र्धन्यायिक निकाय प्रेस काउन्सिल नेपाललाई सुम्पनसमेत माग गरिएको छ । अन्यथा देशभरका कलमजीविहरु अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने बताइएको छ ।
यसरी महासंघको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेपाल फोटो पत्रकार महासंघ रहेका छन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमले सम्बन्धित ठाउँमा तत्काल पठाउने र मन्त्रालयका सचिवालाई यस विषयमा सबिस्तार गर्ने बताए ।
गत शनिबार प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रिर्पोटिङ्ग गरिरहेका महासंघका निवर्तमान सहसचिब, रेडियो नेपालका उदयपुर संम्बाददाता, फोटो पत्रकार महासंघका केन्द्रीय सचिव तथा फोनिजका केन्द्रीय सदसयसमेत रहेका निगरानी पोष्ट डटकमका सञ्चालक पत्रकार राईलाई मुख्यचौकबाट प्रहरीले विना पक्राउपुर्जी अमानविय ढंगले पक्राउ गरेको थियो । लगत्तै देशव्यापीरुपमा संचार सम्बद्ध निकायले विरोध जनाउँदै आएका छन् ।






