आवरउदयपुर, कार्तिक २३
खोटाङ । माओवादी केन्द्रका नेता रामकुमार राई (पासाङ) खोटाङबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। स्थानीय जनता र मतदातामाझ चिनिएका उनी यो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन्।
पछिल्लो समय खोटाङमा उनको पक्षमा निकै राम्रो माहौल बन्दै गएको देखिन्छ। मुख्य प्रतिस्पर्धी देखिएको एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा माओवादी केन्द्रमा प्रवेश गरेपछि रामकुमारको पक्षमा निकै राम्रो माहौल बन्दै गएको माओवादी केन्द्रका नेताहरू बताउँछन्।
केही दिनअघि पत्रकार सम्मेलन गरेरै एमाले जिल्ला कमिटी सदस्य जेपी आचार्यको नेतृत्वमा एमालेका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यस्तै जसपाका नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। जसपाका रबिन खम्बूको नेतृत्वमा ३८ जना नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता-कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा रामकुमारको पक्षमा निकै सकारात्मक माहौल बनेको माओवादीका नेताहरू बताउँछन्।
आफ्नो पक्षमा माहौल बन्दै गएपछि रामकुमार पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्। ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ। जनताहरू पनि हाम्रो पक्षमा हुनुहुन्छ, कार्यकर्ता पङ्क्तिमा उत्साह छ,’ रामकुमार भन्छन्।
स्पष्ट अडान भएका, देश र जनताको पक्षमा निरन्तर लढीरहने नेताका रूपमा चिनिन्छन् रामकुमार। ‘खोटाङका जनताको माया ममत पाएर म यो ठाउँमा पुगेको छु, यहाँका जनताको अझ धेरै सेवा गर्ने मेरो चाहना छ,’ रामकुमार भन्छन्, ‘खोटाङको विकास र समृद्धिका लागि पहल गर्नेछु। ढाँट्ने छल्ने मेरो स्वभाव छैन। खोटाङका जनताको पक्षमा काम गरिरहेको छु। भोलि पनि गरिरहने छु।’
राष्ट्रियता र जनताको पक्षमा निरन्तर उभिएका रामकुमारले आफूले जनताको शीर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन्। ‘मैले खोटाङे जनताको शीर झुक्ने काम गर्नेछैन। जहिले पनि खोटाङ जिल्लाको शीर ठाडो हुने गरी काम गर्नेछु।’
आफूले जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाउँदै रामकुमारले आफू अरु जस्तो ढाँट्दै हिँड्ने मान्छे नभएको उल्लेख गरे। ‘कतिपय माननीय र जनप्रतिनिधिहरूले जनतालाई ढाँट्दै हिँड्नुभएको छ। जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका बाचा पूरा नगर्ने काम भइरहेको छ,’ रामकुमार भन्छन्, ‘तर, रामकुमार ढाँट्दै हिँड्ने मान्छे होइन। जनतासँग गरेका बाचा पूरा गर्दै आएको छु। गर्दै जानेछु। म बोलेका कुरा पूरा गर्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय