आवरउदयपुर, कार्तिक २३
सत्तारूढ वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी ओनसरी घर्ती मगरले प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्।
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन्।
घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म संसद विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पुर्याएकाले बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान संविधानको रक्षकका रूपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी गरिएको छ।
गठबन्धनले प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाडौं–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफूल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेन सहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन्।
यसैगरी गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, पर्याप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभूति, साथै नागरिकलाई रोजगारीको अवसरहरू सृजना गर्ने प्रतिबद्धता पनि प्रतिबद्धता पत्रमा गरिएको छ।
साँखु-फड्केश्वर सडकलाई पुर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखु– बज्रयोगिनी– घुमारचोक– डाँडाकटेरी –चौही भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता गरिएको छ।
चाबहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदी–मनोहरा–मूलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम संचालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि प्रतिबद्धता पत्रमा प्रतिबद्धता गरिएको छ।
शिक्षा र स्वास्थ्य
गठबन्धनले काठमाडौं- २ अन्तर्गतका सबै विद्यालयमा अनुसन्धान तथा आविष्कार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। यस्तै संविधानअनुसार निःशुल्क आधारभूत शिक्षा र स्वास्थ्यमाथि जनताको अधिकार स्थापित गराउने सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
सीमान्तकृत गरिब समुदायका घर परिवार लक्षित पौष्टिक आहार, सुत्केरी स्याहार लगायतका विशेष कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक नागरिक स्वस्थ नागरिक अभियानअन्तर्गत खुला जिमको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ।
यस्तै, शंखरापुुर नगरपालिका–३ जहरसिंहपौवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ। महिलाहरूको सशक्तीकरणका लागि उद्यमशीलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजनाहरू बनाउने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ।
यस्तै, गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाइ केन्द्रहरूको स्थापना गर्ने।
सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्था, अस्पताल, सडक तथा यातायात, सार्वजनिक मठमन्दिर तथा गुम्बा, र शैक्षिक संस्थाहरूलाई अपाङ्गमैत्री बनाउने पनि गठबन्धनले बाचा गरेको छ।
सुरक्षित सहरः व्यवस्थित बसोबास
मनोहरा करिडोर निर्माण गर्ने तथा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरूङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको प्रतिबद्धता पत्रमा गरिएको छ।
गठबन्धनले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरूङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने बाचा मतदातालाई गरेको हो।
जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने प्रतिबद्धता पत्रमा प्रतिबद्धता गरिएको छ।
यस्तै, आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तीनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने फोहोर र ढल व्यवस्थापन गर्ने, क्षेत्रअन्तर्गतका सबै खोलामा बग्ने प्लाष्टिकजन्य फोहोरलाई ट्रयाकर्‍याक निर्माण गरी संकलन गर्ने र उचित व्यवस्थापन गर्ने, पेप्सिकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न हुन बाँकी सडक खण्डलाई सम्झौताअनुुसार सम्पन्न गराउने, स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडान गरी उज्यालो, सुन्दर र सुरक्षित सहर बनाउने प्रतिबद्धता पत्रमा छ।
यस्तै, कागेश्वरी मनोहरामा खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गठबन्धनको छ।
कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्त, पर्यावरण मैत्री सहर बनाउने प्रतिबद्धता गठबन्धनका उम्मेदवारले गरेका छन्।
शंकरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न बृहत् गुरूयोजना तयार गरी सोही अनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केबलकार निर्माणको पहल गर्ने साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने घोषणा गठबन्धनको छ।
काठमाडौं–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती तथा प्रदेश (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेश (ख) मा नेकपा (एकीकृत समाजवादी) का भरतप्रसाद फुयाँल उम्मेदवार छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय