आवरउदयपुर, कार्तिक २३
माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। मोरङ ४ बाट पुनः निर्वाचित हुने विश्वासहित मोदी चुनावी अभियानमा खटिएका छन्।
गठबन्धनका सहकर्मीसहित चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा जनताहरूले सकारात्मक प्रतिक्रिया दिएको मोदी बताउँछन्। सत्ता गठबन्धनका नेता-कार्यकर्ताहरू संयुक्त रूपमा चुनावी अभियानमा खटिँदा गठबन्धनको पक्षमा निकै राम्रो माहोत बनेको मोदीको भनाइ छ।
अघिल्लो पटक पनि यही क्षेत्रबाट निर्वाचित भएका मोदी यसटक पनि सोही क्षेत्रबाट दोहोरिने योजनामा छन्। र, आफू नै निर्वाचित हुनेमा पनि उनी विश्वस्त देखिन्छन्।
‘हामी गठबन्धनका सहकर्मी दलहरू काँधमा-काँध मिलाएर चुनावी अभियानमा छौँ। जनताहरूको राम्रो सद्भाव छ। नेता-कार्यकर्तामा उत्साह छ,’ मोदी भन्छन्, ‘यसपटक निकै राम्रो माहोल बनेको छ।’
घरदैलो अभियानमा खटिएकाहरू पनि मतदाताले गठबन्धनप्रति राम्रो सद्भाव देखाएको बताउँछन्। ‘मोरङमा गठबन्धनको पक्षमा एकदमै राम्रो माहोल बनेको छ,’ अभियानमा खटिएका एक कार्यकर्ताले भने।
को हुन् मोदी ?
बाबु स्व. पवनलाल मोदी र आमा वालो देवी मोदीको कोखबाट वि.सं. २०४२ असोज ५ गते अमनलाल मोदीको जन्म भएको हो । उनकी पत्नीको नाम रितेश कुमारी लेखी हो भने उनीहरूका दुई जना छोरा छन्।
मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो। मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने।
मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य बने।
राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि गुजारेका छन्। २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन विताए। मोदीले २०७० को संविधान सभा सदस्य तथा २०७४ मा प्रतिनिधि सभाको सांसद बनेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय