आवर उदयपुर ,कार्तिक ३
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव सामान्य परिघटना मात्र नभएर प्राप्त उपलब्धीको रक्षा गर्ने र त्यसलाई उल्ट्याउने बीचको लडाइँ भएको बताएका छन् ।
बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ‘मिलन स्मारिका’को ललितपुरमा विमोचन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । आफूहरू समाजवादको लक्ष्य प्राप्तीका लागि नयाँ बाटो कोरिरहेको पनि बताए ।
‘अहिले प्रतिक्रियावादीहरूले माओवादीको नेतृत्वलाई घेराबन्दी गरेर माओवादीको एजेन्डामाथि प्रहार गरिरहेका छन् । जनतालाई माओवादीको आन्दोलन, एजेन्डा र माओवादीको नेतृत्वको बारेमा भ्रम छर्ने र सबभन्दा बढी प्रहार गरिरहेका छन्,’ प्रचण्डले भने, ‘त्यसैले यो निर्वाचन सामान्य मात्रै छैन । उपलब्धीको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ हो ।’
माओवादी बलियो भए प्राप्त उपलब्धीको रक्षा र विकास हुने प्रचण्डले बताए । माओवादी कमजोर भएमा भने ती उपलब्धीहरू खतरामा पर्ने उनको भनाइ छ ।
गत वर्ष ओली प्रधानमन्त्री हुँदा संविधान खारेज गर्नकै लागि पटक पटक असंवैधानिक तवरले संसद विघटन गरिएको बताए । संसद विघटन गरेर चुनाव नगर्ने मनसायका साथ उक्त कदम चालिएको प्रचण्डको भनाइ छ ।
‘गत साल झण्डै झण्डै प्रतिक्रान्ति हुने हो कि भन्ने स्थिति हामीले भोग्यौँ । नेपाली जनताले पनि भोग्यो । पटक-पटक असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुको मक्सद संविधान खारेज गर्नु थियो । प्रतिनिधिसभा विघटन गरेर तुरुन्तै चुनाव हुन्छ जस्तो प्रचार गरियो । तर, हुनेवाला थिएन,’ प्रचण्डले भने, ‘एकचोटी संविधानले लिक छाडेपछि त्यो फेरि फर्कन गाह्रो थियो । त्यसलाई हामीले प्रतिवाद गर्‍यौँ ।’
ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि माओवादी केन्द्रले नै सुरुमा त्यसको प्रतिवाद गरेको उनले बताए । त्यसबेला असंवैधानिक कदमविरुद्ध माओवादीले गरेको सडक आन्दोलनलाई पनि उनले स्मरण गरे । माओवादीको आह्वानमा त्यसबेला लाखौँ जनता सडकमा नआएको भए प्रतिगमन भइसक्ने अवस्था रहेको उनले बताए । तर, आफूहरू त्यसलाई रोक्न सफल भएको उनको भनाइ छ ।
राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीको स्मरण गर्दै प्रचण्डले उनी निकै क्रान्तिकारी पत्रकार भएको बताए । मिलन नेपालीका बुबा आफ्नो अभिभावक रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘चितवनमा मेरो अभिभावक मिलनको बुबा हो । मिलनले पार्टी हेर्डक्वाटरमा रहेर पनि काम गर्नुभयो ।’
मिलनलाई सम्झिँदै प्रचण्डले भने, ‘उहाँले अलिकति कुरा खोल्दिनुभएको भए पनि उहाँ बेपत्ता हुने स्थिति नहुन पनि सक्थ्यो । हामी पक्राउ पर्न पनि सक्थ्यौँ । तर, उहाँ तत्कालीन राज्यसत्तासँग झुक्नुभएन । पार्टी र आन्दोलनको रक्षा गर्नुभयो ।’
प्रेस सेन्टर ललितपुरले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा मिलन स्मृति निकालेर उनको मात्र नभएर सम्पूर्ण बेपत्ता योद्धाको पनि सम्मान गरेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै प्रेस सेन्टरका उपाध्यक्ष तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले मिलन नेपाली र कृष्ण सेन ‘इच्छुक’ले देखाएको बाटोमा आफूहरू अविचलित भएर लाग्ने बताए ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष तथा पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्कीले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा स्मारिका निकाल्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा मिलन नेपालीकी जीवन संगीनी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई तत्कालीन राज्यसत्ताले २०५६ मा काठमाडौंको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहितपक्राउ गरी बेपत्ता बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय