आवारउदयपुर भदौ, ५ उदयपुर
उदयपुरको रौतामाई गाउँपालिकाका दुई बिद्यालयमा यसै बर्षदेखि प्रविधिमैत्री कक्षा (आईसिटी) सञ्चालन हुने भएको छ ।
निजी बिद्यालय सरह सरकारी बिद्यालयका बालबालिकालाई प्रविधिमा अव्वल बनाउने उदेश्यले रौतामाई गाउँपालिकाको सहकार्यमा जाल्पा एकिकृत विकास समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालले प्रविधि कक्षा सञ्चालनका लागि सहयोग गरेका हुन् ।
संस्थाले गाउँपालिका भित्र नमुना बिद्यालयतर्फ उन्मुख भईरहेको वडानं ४ स्थित सरस्वति माध्यमिक बिद्यालय मालवासे र वडानं ७ को जनता सानाकिसान आधारभूत बिद्यालय पुवाँरेमा भवनसहित एक करोड ३८ लाख १४ हजार पाँच रुपैँया सहयोग गरेको हो ।
प्रविधि शिक्षामा बालबालिकालाई समयानुकुल विकास गर्ने गरी जाल्पा र वल्र्डभिजनको सहकार्यमा सञ्चालित गोलपरियोजना अन्र्तगत प्रत्येक बिद्यालयमा दुई कोठे भुकम्प प्रतिरोधात्मक, बाल तथा अपाङ्गमैत्री आरसिसी एक तले भवन र अन्य प्रविधि हस्तान्तरण गरेको अध्यक्ष पुष्पराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार मालबासेमा संस्थाको ३९ लाख ८९ हजार ४ सय ६८, गाउँपालिकाको जोडकोष वापत १४ लाख १६ हजार ७ सय ६६ गरी कुल ५३ लाख ८७ हजार ५ सय ७३ रुपैँयाको लागतमा आईसिटीयुक्त भवन निर्माण गरिएको छ ।
त्यसैगरी पुवाँरेमा संस्थाको ३६ लाख १२ हजार ४ सय ९८ र गाउँपालिकाको १२ लाख ८३ हजार २ सय ३५ गरी ५२ लाख ८४ हजार २ सय ९२ रुपैँयाको लागतमा भवन निर्माण भएको उनले बताए ।
दुबै बिद्यालयमा डेक्सटप कम्प्युटर ८/८ थान, ल्यापटप १/१ थान, कम्प्युटर टेवल, कुर्सी, प्रिन्टर, कार्पेट, चकडी, सानो गोलो टेवल, सोलारसिस्टम, प्रोजेक्टर, दराज, भवन मर्मत, घेरावेरा तथा रंगरोगन लगायतका आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको जाल्पाका कोषाध्यक्ष सुमन परियारले जानकारी दिए ।
नवनिर्मित दुबै भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले भवन निर्माण र प्रविधि हस्तान्तरणले नमुना बिद्यालयतर्फ उन्मुख हुँदै गरेका बिद्यालयलाई शैक्षिक गुणस्तरियतामा सहयोग मिलेको बताए । ‘गुणस्तरिय शिक्षाको एउटा मेरुदण्ड भवन नै हो, उनले भने, ‘भौतिक संरचना तर्फ अव हामीले भवन र कम्प्युटरको अभाव झेल्नु पर्ने अवश्था छैन् खाली वातावरण इच्छाशक्तिको तयारी गरे मात्र पुग्छ ।
अध्यक्ष मगरले सरकारी बिद्यालयको गुणस्तर खस्किनुमा शिक्षक मात्र दोसी नभई अभिभावक, बिद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शैक्षिक वातावरण पनि उत्तिकै दोसी भएको बताए । उनले गुणस्तरिय शिक्षाका लागि पालिका भित्रका ६० वटै बिद्यालयमा विद्युतिय हाजिरी, नियमित अनुगमन, बिद्यार्थी अनुपातमा दरवन्दि मिलान प्रकृया सुरु गरिएको बताए ।
अध्यक्ष मगरले पालिका भित्रका जनतालाई उपलब्धि हुने सबैखाले कार्यक्रम दातृनिकायसँग जोडकोषबाट सहकार्य गरी सञ्चालन गर्न तयार रहेको बताए । उनले विगतका जनप्रतिनिधिले गरेका असल कार्य, सृजनात्मक कामको रुपरेखालाई इट्टा थप्ने र रङ्गरोगन गरी सृगार्न तयार रहेको बताए ।
त्यसैगरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्काले भवन मात्र चिटिक्क भएर गुणस्तरिय शिक्षा नहुने भएकाले शिक्षकहरुको मेहनत, लगनशिलता र शैक्षिक इमान्दारिताको खाँचो रहेको बताए । उनले निकै मेहनत र सहयोगले आफ्नो कार्यकालमा दुबै बिद्यालयको भवन निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताए । खड्काले गाउँपालिका भित्र दरबन्दिका शिक्षक अभाव रहेकाले थप दरवन्दि सृजना गर्न पहल गर्नु पर्ने बताए ।
वल्र्डभिजनका प्रतिनिधि गोबिन्द चपाईले गोलपरियोजना सफल बनाउन शिक्षकको क्षमता अभिवृद्धी गर्न कम्प्युटर शिक्षा तालिम, अध्ययन अवलोकन भ्रमण गराइएको बताए । उनले सरकारी बिद्यालयका सबै बिद्यार्थीलाई प्रविधिमा दख्खल पुर्याउन वल्र्डभिजनले साझेदार संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले उपलब्ध सामग्रीको सदुपयोग गर्दै दिगोपनामा ध्यान दिन आग्रह गरेका थिए । उनीहरुले दातृनिकायले सहयोग रहेसम्म सञ्चालन हुने र त्यसपछिका दिनमा ति असल शिक्षाका कार्यक्रम बन्द हुने गरेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा बालबालिकाले सांस्कृतिक कार्यक्रममार्फत कला प्रर्दशन गरेका थिए ।
सोही अवसरमा आधारभूत बिद्यालय पुवाँरेमा बिद्यालयलाई योगदान पुर्याउने कुमारी आलेमगर, चोककुमारी मगर, दुर्गबहादुर थापा र दैया एसकेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दुबै भवनको गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर र निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।