उदयपुर
लगातारको बर्षाकाकारण उदयपुरका राष्ट्रिय राजमार्ग र स्थानीय सडकहरु अवरुद्ध भएका छन् । एक सातादेखि परेको पानी नरोकिएपछि मदन भण्डारी, सगरमाथा, सिद्धिचरण राजमार्ग र ग्रामिण सडकको ठाउँ-ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका हुन् ।
सगरमाथा राजमार्गको रौतामाई गाउँपालिका ५ छामलिङ्ग र जल्केनी विचको कुण्डले भिरको पहिरो वग्दा सडक अवरुद्ध छ । दुबै ठाउँमा सडक सूचारु गर्न आयोजना कार्यालयले लोडर मेसिन पठाएपनि पानी नरोकिएकाकारण सफा गर्न नसकिएको रौतामाई ५ का वडाध्यक्ष पाण्डोव राईले बताए ।
अवरुद्ध सडक सुचारु नहुँदा खोटाङ्ग र उदयपुरको ग्रामिणभेगबाट यातायातका साधनबाट सदरमुकाम गाईघाट झरेका सर्वसाधरणले सास्ति व्यहोर्नु परेको छ । पहिरो नरोकिएकाकारण पैदलयात्राबाट आवतजावत गर्नसमेत कठिनाई भएको उनले बताए ।
राईले भने, ‘जोखिम मोलेर सर्वसाधरण सडक माथिको पहिरो हेर्दै कुद्नु पर्ने बाध्यता छ, अझ विरामीलाई पिढ्युमा बोकेर पहिरो कटाउनुको समस्या झनै छ । ‘खुट्टा भाचिँएर उपचारका लागि जिल्ला अस्पताल ल्याईदै गरेका स्थानीय बखतबहादुर राईलार्ई भर्खरै जोखिम मोलेर पिढ्युमा बोकेर पहिरो कटाउन बाध्य भयौ, उनले भने, ‘आयोजनालाई सडक सुचारु गर्न भनेका छौ मेसिन पनि आएको छ, मौसमलेगर्दा काम गर्न सक्ने अवश्था छैन् ।
आयोजना प्रमुख गोपाल खकुरेलले पहिरो सफा गर्न लोडर र प्राविधिक टोली पठाइएको र आईतबारसम्म सूचारु हुने बताए । मदन भण्डारी राजमार्गकोसमेत प्रमुखको जिम्वेवारी सम्हालेका डिई खकुरेलले पहिरो पन्छाउन ठाउँ-ठाउँमा मेसिन राखिएको र काम भईरहेको बताए । उनले पुर्विखण्डको खैरहा र असारी खोलामा केहि समस्या देखिएपनि समाधानका लागि प्रयास भईरहको बताए ।
पश्चिमी खण्डमा मौवासी खोलले ह्युमपाईप वगाउँदा यातायात वारपार गर्न समस्या भएको बताए । बाँकी ठाउँमा पहिरो पन्छाउँदै भएपनि यातायात सुचारु गरिएको उनको भनाई छ । सिद्धीचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मि खण्डमा पहिरो वग्दा यातायात अवरुद्ध छन् ।
रौतामाईको आँपटार क्षेत्र मात्र हैन् अधिकांस ग्रामिण सडकको अवश्था उस्तै छ । खोटाङ्गबाट पैदलयात्रा गरी गाईघाट झर्दै गरेका गोपाल अधिकारी भन्छन्, ‘राजमार्गको अवश्था त यो छ, गाउँपालिकाको लगानीमा भर्खरै खुलेका ग्रामिणभेगका सडकको अवश्था के हालत होला एक पटक नजर लगाउनुस ।
लगातारको बर्षाकैकारण सदरमुकाम गाईघाटसँग जोडिने रौतामाई, उदयपुरगढी, ताप्लि, लिम्चुङ्गबुङ्ग गाउँपालिका र कटारी नगरपालिकाका ग्रामिण सडक अवरुद्ध छन् । त्यस क्षेत्रमा यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । सदरमुकामको वरुवा खोलाले पुर्वपश्चिम बसपार्क छेउ र पिकनिक स्पोर्ट नजिकका बाँध कटान गर्न सुरु गरेको छ ।
बेलका नगरपालिकाको वडानं १,२,३ मा सप्तकोसी नदी र त्रियुगा खोलाले खेतीयोग्य जमिन कटान गरेको उपमेयर जिरा राईले बताईन् । उनले नियन्त्रणका लागि सशस्त्र, नेपाल प्रहरी र स्थानीय परिचान गरिएको बताईन् । सदरमुकामको त्रियुगा र बरुवा बसपार्कले धार परिवर्तन गर्दा बजार जलमग्न छ ।
त्यसैगरी चौदण्डिगढी नगरपालिका ५ शिवाईमा त्रियुगा खोलाले भर्खरै निर्माण गरिएको बाँध भत्काउँदा खेतीयोग्य जमिन वगरमा परिणत भएको स्थानीय भाष्कर चौधरीले बताए । प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जनताको ज्युधन सुरक्षाका लागि आवश्यक अनुसार सुरक्षाकर्मी नदी नियन्त्रणमा परिचालन गरिएको बताए ।
उनले बर्षा तत्काल नरोकिने देखिएकाले नदी आसपासका क्षेत्रमा उच्चसतर्कता अपनाउन सर्वसाधरणलाई अपिल गरिएको बताए । उनले बस्ति सुरक्षित गर्न स्थानीय तहसँग समन्वय गरी सुरक्षाकर्मीको टोली परिचालन गरिएको बताए । जिल्लाका सप्तकोसी नदी, त्रियुगा, बरुवा, ककरु, तावा, मरुवा, लुहाले, बैद्यनाथ, यारी, लामा, खैराहा, वविया लगायत दर्जनौँ खोलामा पानीको बहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।
फोटो क्याप्सन ः सगरमाथा राजमार्ग अन्र्तगत रौतामाई गाउँपालिका वडानं ५ स्थित छामलिङ्ग र जल्केनी विचको कुण्डले भिरको पहिरोले सडक अवरुद्ध गरेपछि पिढ्युमा विरामी बोकेर पहिरो कटाउँदै सर्वसाधरणहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय