मोहन गोले
चलचित्र कबड्डी–४ की नायिका मिरुना मगर र लामा फुर्बा तामाङको केसको बारेमा अघिल्लो दिनदेखि नै सामाजिक सञ्जालमा आइरहेको कुरालाई मैले हेरिरहेको थिएँ । तर सामान्य केस होला भनेर वास्ता गरिनँ । तर जेठ १६ गते साँझ ७:०० बजेदेखि भने धेरै ठाउँबाट फोन आउन थाल्यो । मेसेन्जरमा त्यत्तिकै कुराहरू आयो । सामाजिक सञ्जालमा सबैले त्यो घटनाको भिडिओ सेयर गरेको देखेँ । यस घटनालाई लिएर म र म आबद्ध संस्थालाई पनि जोडेर प्रश्न गर्न थालियो । यसपछि यस कुरालाई अलिक सिरियसली लिएँ । राती ९:०० बजेसम्म मेरो मोबाइलमा धेरै फोन आइसकेको थियो । बौद्ध महासङ्घको उपाध्यक्ष खेन्पो कमल भण्डारीको पनि फोन आयो । लामाको रिहाइको लागि पहल गरिदिनुपर्यो‍ भन्ने सबै साथीहरूको अनुरोध आएपछि भने मैले केही गर्नै पर्छ भन्ने लाग्यो ।सहमतिको कागजमा के लेखियो रु त्यो मैले पछि मात्र थाहा पाएँ । त्यसकारण यो कागजबाट उत्पन्न समस्यामा मेरो नाम जोड्नु ठिक हुँदैन ।असहमति, अन्तर्विरोधबाट सिर्जित द्वन्द्वले नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो ।त्यसदिन धेरै राती भइसकेकोले टिममा साथीहरूसँग कुरा गर्नु उचित लागेन । सुतिसकेका होलान् भन्ने लाग्यो । महासङ्घको पूर्व महासचिव तथा जनजाति अभियन्ता आङकाजी शेर्पालाई फोन गरेँ । उहाँ सोलुखुम्बु जिल्लामा पुग्नुभएको रहेछ । जहाँ पुगे पनि समस्यामा तीव्र एक्सनमा जाने उहाँको स्वभाव छ । उहाँसँग नै फोनमा कुराकानी भयो । उहाँलाई पनि यो केसबारे त्यत्ति धेरै जानकारी रहेनछ । उहाँले कलाकार दयाहाङ राई, पत्रकार विश्व लिम्बू, काठमाडौँ जिल्लाको सिडिओ र लामा हिरासतमा रहेको विशालबजार प्रहरी वृत्तको डिएसपीको फोन नम्बर उपलब्ध गराउनुभयो । तत्कालै कलाकार दयाहाङ राई, डाइरेक्टर रामबाबु गुरुङ र पत्रकार विश्व लिम्बूसँग कुरा भयो । पत्रकार विश्व लिम्बूजी नायिका मिरुनाको आफन्त नै पर्ने रहेछ । उनको आमा पनि लामो समय आदिवासी जनजाति चलचित्रको क्षेत्रमा काम गरेको भन्ने थाहा पाएँ । अर्को अभियन्ता सन्जोग लाफा मगरलाई पनि मेसेज गरेँ तर उनले राती जवाफ फर्काइएन । शायद सुतिसकेको भएर हुनसक्छ । उहाँहरूले स्थिति अप्ठ्यारो बन्दै गएकोले लामाको रिहाइ गर्न भूमिका खेलिदिनु पर्यो‍ दाई भन्ने कुरा गर्नुभयो । जेठ १६ गते नै उनलाई रिहाइको लागि आफूहरू गए पनि प्रहरीले नछाडेको कलाकार दयाहाङ राईले बताए । यस सम्बन्धमा पीडित भनिएकी कलाकार मिरुना मगर के भन्छिन् ? त भनेर जान्न चाहेँ । नायिका मिरुनासँग त मेरो कुरा भएन तर पत्रकार विश्वजी र कलाकार दयाहाङबाट उनले पनि लामालाई रिहाइ गर्न नै चाहिरहेकी भन्ने बुझेँ । उनले नचाहेको भए म महिलाको केससँग जोडिएको यो कुराको पछाडि लाग्ने थिइनँ । यत्ति बेलासम्म कबड्डी फिल्म चलेको हलहरूमा भोलि प्रदर्शन गर्ने, विरोध जनाउने कुराहरू सामाजिक सञ्जालमा आइसकेको थियो । म त्यसलाई पनि हेरिरहेको थिएँ । ओहो स्थिति असहज होला कि ? धार्मिक सद्भाव पो भड्किन्छ कि ? भन्ने लाग्यो । यस्तोमा एउटा सामाजिक अभियन्ताको नाताले केही त गर्नै पर्छ भन्ने सोचेँ । भोलि १० बजे नै विशालबजार जानुपर्छ भनेर कलाकार दयाहाङ राई, फिल्मको डाइरेक्टर, पत्रकार विश्व लिम्बू र खेन्पो कमल भण्डारीलाई भनेँ । उहाँहरू पनि तयार हुनुभयो ।भोलिपल्ट बिहान वृत्त प्रमुख डिएसपीसँग पनि कुरा भयो । उहाँ एकदमै सकारात्मक हुनुहुँदो रहेछ । कुरा राख्ने बित्तिकै उहाँले म समस्या आएपछि समाधान खोज्ने मान्छे हुँ भन्नुहुँदै आउनुस् लामालाई छुटाउने कुरामा म सकारात्मक छु, दुई घण्टामा छुटाइदिन्छु भन्नुभयो । मैले खोजेको त्यत्ति नै थियो । बिहान ९:०० बजेसम्ममा घेदुङको साथीहरू पनि धेरै जनाको फोन निरन्तर आइरह्यो । धेरैजनासँग कुरा गर्नु सम्भव पनि थिएन । ज–जसले फोन गर्नुभयो, उहाँहरूलाई प्रहरी वृत्त विशाल बजारमै आउनुस् भनेँ । घेदुङको उपमहासचिव जगत दोङ र सङ्घीय सदस्य अमृत थिङ पनि आउनुभयो । म खेन्पो कमल भण्डारीसँगै गाडी चढेर न्यूरोड गएँ । जाँदाजाँदै यस्तो केसमा कानुनी व्यवस्था के छ भनी अधिवक्ता डा. कुन्साङ योन्जनजीसँग पनि कुरा गरेँ । उहाँले जो पीडित हो, उसले माफी दिएपछि यस्तो केस साह्रै जटिल हुँदैन भन्ने कुरा गर्नुभयो । अलिक आशावादी भएँ । साथै उहाँले यस्तो केसमा घेदुङको अध्यक्ष कहाँ हिँड्नुभएको हो ? भनेर सचेत पनि गराउनुभयो । हल्का ठिकै हो कि जस्तो पनि लाग्यो तर पनि सञ्जालमा पब्लिकको मसँग जोडिएर आएको प्रश्नले यसबारेमा मैले केही पहलकदमी लिनै पर्छ भन्ने लाग्यो ।प्रहरी वृत्त विशालबजार पुगेपछि बाहिर केहीबेर हामी सबै जना बस्यौ । सई सापलाई वृत्त प्रमुखलाई भेट्ने समय मिलाइदिनोस् भनेँ तर उहाँले बस्दै गर्नोस् न भनेर अल्मल्याउला जस्तो लागेपछि मैले डिएसपीलाई त्यहीँबाट फोन गरेँ । उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो । खेन्पो कमल भण्डारी, केही लामा गुरुहरू र म माथि गएँ । उहाँले लामालाई सम्मानपूर्वक राख्नुभएको कुरा गर्नुभयो । लामाको नियत गलत नभएको तर घटनामा उनलाई त्यत्तिकै छाडिएको भए स्थिति जटिल हुने थियो भन्नुभयो । साथै उहाँले मलाई बसेको ठाउँबाट उठाएर लामाबाट नायिका मिरुनालाई भएको यत्ति हो भनेर टच गरेरै देखाउनुभयो । डिएसपी सापले लामाको रिहाइको लागि सरकारी वकिलको कार्यालय हुँदै सिडिओ कार्यालयमा पठाउन कागज तयार गर्न लगाइसकेको हुँदा म लामा रिहाइ हुने कुराले ढुक्क भएँ । त्यहाँ कुनै वादविवाद र तर्क गरिरहनु आवश्यक लागेन । केही साथीहरूले सिसिटिभी फुटेज हेरौँ भन्ने कुरा पनि गर्नुभयो तर रिहाइ नै हुने भइसकेपछि किन फुटेज हेर्ने, अब समस्या नखोतलौँ भनेर साथीहरूलाई सम्झाएँ ।यसपछि मैले डिएसपीसँग हिरासतमा लिइएका लामालाई एक पटक भेट्ने अनुरोध गरेँ । मेरो विचारमा लामाको मेन्टालिटीमा कुनै समस्या छ कि भन्ने लागेको थियो । किनकि यौनजन्य दुर्व्यवहार नै हो भने त यसरी सार्वजनिक स्थलमा नर्मल मान्छेले त गर्दैनन् भन्ने लागेको थियो । तर लामालाई भेट्दा त्यस्तो केही देखिएन । उनी विगत १८ वर्षदेखि फर्पिङमा बसेर बौद्ध दर्शन अध्ययन गरिरहेका र अहिले श्रामणेर भइसकेका रहेछन् । पश्चिम मुगुको बासिन्दा भएकोले बोल्ने लवजमा उताको स्थानीय शैली भने थियो जुन काठमाडौँको जस्तो सललल थिएन । मैले उनलाई घटना के भएको हो ? भन्नुस् भनेँ । उनले आफ्नै तरिकाले यसरी सुनाए ।फुर्वा लामाले यसरी भने– दयाहाङ राई मेरो मन पर्ने कलाकार हुन् । त्यसैले बिदाको दिन पारेर उहाँको फिल्म हेर्न आएको थिएँ । फिल्म हेरिसकेपछि बाहिर निस्कँदा हिरोनी मिरुना मगरसँग सबैले फोटो खिचिरहेको देखेँ । मलाई पनि फोटो खिच्न मन लाग्यो । मेरो मोबाइलको क्यामेरा त्यत्ति राम्रो थिएन । मेरो एउटा हातले सेल्फी फोटो खिच्न मोबाइल समातेको थियो । उहाँलाई दुई पटक नजिकैबाट हातले हल्का छोएर म्याडम यता फर्किनुस् न भन्दै बोलाएँ । उहाँको ध्यान अन्तैतिर बढी मोडिएको थियो । एक पटक मतिर हेर्नुभयो तर फोटो खिच्दा मोबाइलको क्यामेरा हल्लिएर राम्रो आएन । फेरि फोटो खिच्न उहाँलाई म्याडम यता फर्किनुस् न भन्दै एउटा हातमा मोबाइल र अर्को हातले उहाँलाई इशारा गरिरहेको थिएँ । दर्शकको भिड धेरै थियो । उहाँलाई सबैले फोटो खिच्न खोजिरहेका थिए । मेरो कुरालाई ध्यान दिइरहनु भएको थिएन । यत्तिकैमा भिडले मलाई पछाडिबाट धक्का लगायो । म अनकन्ट्रोल भएँ । एउटा हातमा फोटो खिच्न तयारी अवस्थामा राखेको मोबाइल बचाउने कि आफै सम्हालिने भन्ने अवस्थामा लड्न लागेपछि सहाराको लागि उहाँको पछाडिको भागमा मैले समात्न पुगेँ । त्यसपछि मलाई गाली गर्नुभयो । थप्पड मार्नुभयो । कान समातेर उठबस गराउनुभयो । भिडका मान्छेहरू सबैले मलाई नै खाउँला जसरी हेर्न थाले । म कहिल्यै पनि यस्तो केसमा नपरेको मान्छे बेस्सरी डर लाग्यो । बोल्न खोज्दा आवाज नै आएन । श्वास रोकिए जस्तो भयो । मैले नियतवश उहाँलाई छोएको होइन पनि भन्न सकिनँ । भएको यत्ति हो ।लामाले यी कुराहरू बताउँदै गर्दा मलाई उसले बनावटी कुरा भनिरहेको जस्तो लागेन । मैले उनको अनुहार पनि पढेँ । मेन्टालिटी पनि ठिक रहेछ । त्यस्तो केही असाधारण जस्तो व्यवहार पाइएन । त्यसपछि म बाहिर निस्केर साथीहरूलाई लामा त निर्दोष रहेछ, भुलचुकमा यस्तो भएको रहेछ है भनेँ । एक छिनमा डिएसपी सापले लामालाई सिडिओ कार्यालय पठाउने कुरा भयो । प्रहरीकै गाडीमा मलाई पनि जान अनुरोध गर्नुभएको थियो तर मेरो कार्यालयमा काम पनि भएकोले म गइनँ । खेन्पो कमल भण्डारीलाई त्यसतर्फ पठाएँ । म लामालाई त्यहाँबाट पठाएपछि घेदुङ कार्यालय बौद्धतिर हिँडे । के.एल. टावरमा प्रदर्शन भइरहेको रहेछ । त्यहाँ झरेर केही कुरा राखौँ कि जस्तो लागेको थियो तर भिडमा प्रस्तुत हुनु ठिक हुँदैन भन्ने लागेर सरासर हिँडे । साथीहरूले फोन गर्दा लामा अब केही समयपछि छुट्दै हुनुहुन्छ, अब आन्दोलन नगर्नुहोला भनेँ । आफ्नो ग्रुपमा पनि यही कुरा राखेँ । त्यसको केही समयपछि सिडिओ कार्यालयबाट फुर्वालाई सामान्य धरौटीमा छाडिएछ । मेरो यो घटनामा सहभागिता भनौँ या मैले खेलेको भूमिका भनौँ यत्ति हो । सिडिओ कार्यालयबाट बाहिर निस्केर साथीहरूले एउटा मिलापत्रको कागज गरेछन् । त्यो मलाई थाहा छैन । म गएको भए कागज अलि दुवै पक्षलाई जिताजित हुने किसिमले बनाइदिन्थेँ ।कागजको ब्यहोरा पढ्दा एकदमै कच्चा मान्छेले लेखेको जस्तो थियो । कागजको लेखाइले लामालाई अलिकति तल पारिएकै हो । यसबारेमा मैले खेन्पो कमल भण्डारीसँग पनि कागज कसले लेखेको हो ? भनेर सोधेँ । उहाँले लेखनदासको नाम बताएनन् तर हतारमा त्यस्तो भएको मात्र भने । पछि सामाजिक सञ्जालबाट त्यो कागज पत्रकार विश्व लिम्बुले लेखेको भन्ने पत्ता लाग्यो । वास्तवमा सिडिओ कार्यालयबाट फुर्वा रिहाइ भइसकेपछि यो कागज गरिरहनु आवश्यक पनि थिएन । अहिले यो केसमा जत्ति पनि कुराहरू आइरहेका छन् । यही कागजले गर्दा नै अलि बढी भएको हो जस्तो लाग्छ । कागज गर्नुको उद्देश्य दुई पक्षको मन मिलाउनु थियो । उद्देश्य गलत थिएन तर कागजको पेट बोलीले आशय गलत देखिन पुग्यो । कागजमा साक्षी बस्नेहरू पनि कुनै कानुनी पृष्ठभूमिको मान्छे नभएकाले यसले समाजमा कस्तो सन्देश जान्छ भन्ने हेक्का नराखिएको पनि होला । कलाकार, लामा गुरुहरूले कागजको लेखाइले के अर्थ लाग्छ भन्ने तर्फ ख्याल नगरिएका हुन् । कहिलेकाहीँ राम्रो गर्न खोज्दा झन् नराम्रो हुन पुग्छ । त्यही कागजलाई पोस्ट गर्दै केही जिम्मेवार साथीहरूले नै लामाले माफी माग्यो, मिरुनाले माफी दिइन् भनेर लेखेको पनि देखियो । तर यसमा दुवै पक्षको कमीकमजोरी भएको छ र यो कागजमा दुवै पक्षको जितको अवस्था झल्किनु पर्थ्यो ।अहिले केही मान्छेले सामाजिक सञ्जालमा मेरो पनि नाम जोडेर लेखेको देख्दा दुःख लागेको छ । जसले दुवै पक्षको माग बमोजिम फुर्वा लामाको रिहाइ हुनुपर्छ भनेर प्रहरी वृत्तसम्म पुगेर सहजीकरण ग¥यो, उसैलाई गाली गरेको छ । कागजमा म साक्षी बसेको भए पनि गाली गर्नु ठिकै हुन्थ्यो होला तर त्यहाँ बस्दै नबसेको मान्छेलाई गाली गर्नु ठिक होइन । प्रहरी चौकीसम्म पुगेर लामाको रिहाइको लागि पहल गर्दा पनि गाली खाने, पहल नगर्दा पनि झन् गाली खाने भनेपछि कसलाई के भन्ने ? म जस्तो सामाजिक अभियन्ता गाली खानकै लागि जन्मेको रहेछ कि जस्तो लागेको छ ।कवि उपेन्द्र सुब्बाले पहिचानको आन्दोलनमा लाग्नु नै गलत रहेछ भन्ने निष्कर्ष निकाल्नुभयो । उहाँजस्तो मान्छेले यस्तो केसमा पहिचानको आन्दोलनलाई जोड्नु दुःख लागेको छ । तर म उहाँले जस्तो पहिचानको आन्दोलनसँग जोडेर यो घटनालाई हेर्दिनँ किनकि यो केस र पहिचानको आन्दोलनबिच तालमेल मिल्दैन । यो केसबारे निम्न बुझाई प्रस्ट पार्न चाहन्छु : १. पहिलो, लामाले फिल्म हेर्न नै मिल्दैन भन्ने मलाई लाग्दैन । आजको स्वतन्त्रता उन्मूख दुनियाँमा हिजोका दिनमा लामालाई फिल्म हेर्न, फुटबल खेल्न, साइकल चलाउन मनाही थियो तर अब यस्ता कुरालाई निषेध गर्न हुँदैन । फिल्म हेर्न मिल्छ तर लामा भेषमै चैँ नगएको भए हुन्थ्यो कि ? भन्ने मेरो तर्क हो । अर्को, लामा हिरोनी मिरुनासँग नजिकिएर फोटो खिच्न यत्ति धेरै क्रेजी नभएको भए पनि हुने थियो । सेलिब्रेटीसँग फोटो खिच्नु आम प्रचलन भएपनि बौद्ध दर्शनको विद्यार्थी लामाले अलि सोच्नुपथ्र्यो कि ? तर जे भयो, भइसक्यो । उनको मनको ईच्छाको कुरा हो । उनको बुझाईले चाहना प्रकट ग¥यो त यसलाई पनि त्यत्ति धेरै अन्यथा नमानौ । २.दोस्रो, लामाले सेल्फी फोटो खिच्न खोजेकोमा अरु आमदर्शक झैँ माया गरेर नायिका मिरुनाले एउटा फोटो खिचिदिएको भए उनको पनि मनै रहन्थ्यो । किनकि कलाकारको सम्पत्ति भनेको नै दर्शक हो । भिडमा बोली नसुनिने स्थितिमा कसैलाई बोलाउनु प¥यो भने हाम्रो समाजमा संबेदनशील केही अंग बाहेक अन्य अंगमा सामान्य हातले छोएर बोलाउनुलाई खासै नराम्रो मानिँदैन । यस्तो कुरालाई कसले कसरी लिन्छन् ? भन्ने कुरा मात्रै हो । भिडले ठेलिँदा लामाको हात उनको शरीरमा छुन पुग्यो । यसमा के भएको हो ? कसरी यस्तो भयो ? भनेर नायिका जस्तो मिरुनाले बुझ्ने कोशिस गर्नुपथ्र्यो । तर उनले त्यो बुझ्ने कोशिस गरिनन् र गाली गर्ने, थप्पड मार्ने, कान समातेर उठबस पनि गराइन् । कुटपिट, गाली र कान समाताई नै भवितब्यबाट हुन गएको यौनजन्य बुझिने हिंसामा यो लामालाई सबक पर्याप्त भइसकेको थियो । त्यसपछि छाडिदिँदा पनि हुन्थ्यो । कानुन हातमा लिएर थप्पड मारिसकेपछि पनि फेरि प्रहरीलाई बुझाउनु यो मिरुनाको अति भयो । आवेगमा नायिकाले यसबाट भोली उत्पन्न परिस्थिति के हुन्छ ? भनेर ख्याल गरिनन् । यदि कानुनी कारबाही नै गर्ने भए उनले लामालाई थप्पड मार्नु हुँदैन थियो, कान समात्न लगाउनु हुँदैनथ्यो । पछि सहमतिको कागजमा मिरुनाले माफी दिएको भन्ने लेखियो तर ढिलोगरी दिइएको माफीलाई माफी भन्ने कि नभन्ने ? भन्ने प्रश्न उठेको छ । किनकि पब्लिकको प्रदर्शन नभएको भए उनी माफी दिन बाध्य हुने थिइनन् भन्ने घटनाक्रमले प्रष्ट पारेको छ । ३.जब लामालाई अनुसन्धानको लागि प्रहरीले हिरासतमा लियो । त्यसपछि लामा कुटपिट काण्डको भिडियो भाइरल बन्यो । सबैले कबड्डीको नायिका मिरुनालाई फेसबुकमा गाली गर्न थाले । यसपछि मिरुना आफूले गरेको कामले आफै बुम¥याङ परेको महसुस गरिन् र उनैले रिहाइको लागि पहल गरिन् । त्यही क्रममा यो केस मसम्म आइपुगेको हो । सबैको अनुरोधमा लामाको रिहाइको लागि पहल गरेको हुँ । कागजमा के लेखियो ? के लेखिएन ? त्यो मैले पछि मात्र फेसबुकबाट नै थाहा पाएँ । त्यसकारण कागजबाट उत्पन्न समस्यामा मेरो नाम जोड्नु ठिक हुँदैन । कि मैले लामालाई छुटाउने पहल गर्नु नै गल्ती थियो भने त्यसमा मलाई दोषी बनाउन मिल्छ । यसमा यहाँहरूले भन्न सक्नुहुन्छ । जहाँसम्म मिलापत्रको कागजमा लेखिएको भाषाप्रति मेरा पनि असहमति छन् ।अन्तमा, यहाँसम्म आउँदा जे भयो, हामी बिचमै भयो । समाजमा यस्ता कुराहरू भइरहन्छन् । मगर र तामाङ जनजातिहरू हामी सबै एकैखालको समस्या भोग्दै आएका समुदाय हांै । व्यक्तिको कारणले हामीबिचको समुदायगत सद्भाव भड्काउनु हुन्न । साथै यसले कलाकार मिरुना मगर र लामा फुर्वा तामाङको भविष्यमा पनि कुनै प्रकारको डिस्टर्व नपुगोस् भन्न चाहन्छु । उनीहरूको प्रगतीले हाम्रै समुदायले गौरव महसुस गर्ने हुन् । मिलापत्र गर्ने क्रममा केही शब्द चयनमा लेख्ने मान्छेले गल्ती गरेका छन् भने त्यसलाई सच्याउन सकिन्छ । तर आशय नै गलत हो भने यसलाई भने अलिक गम्भीर ढंगले हेर्नुपर्छ । यो मेरो निजी धारणा हो । तपाईहरूको धारणासँग सबैको धारणा ठ्याक्कै मिल्नुपर्छ भन्ने हुँदैन । असहमति, अन्तर्विरोधबाट सिर्जित द्वन्द्वले नै मानव सभ्यता यहाँसम्म आइपुगेको हो । द्वन्द्वात्मक भौतिकवादको नियमबाट हामी कोही अछूतो रहन सक्दैनौ । यो घटना पनि त्यसैको एउटा श्रृंखला हो । यस्तो घटनालाई हामीले पाठको रूपमा लिँदै आगामी दिनमा अघि बढ्नु नै सबैको लागि भलो हुनेछ । धन्यवाद ।तस्बिर -सैलुङ अनलाइन ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय