उदयपुर वैशाख २०७९,२६
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने रुपमा देखा परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट, संविघान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गबठन्धनलाई विभाजित गर्ने षड्यन्त्र चलिरहेका छन् । गठबन्धनका शक्तिहरुले धेरै मिहिनेत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोली प्रदेश र संघीय चुनावसम्म लैजानु आवश्यक छ ।”
अध्यक्ष दाहालले देशमा देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने संकल्प लिएको बताउनुभयो ।
संविधान निर्माण र निर्वाचन भएर नयाँ परिस्थिति पछि पनि गत वर्ष देशमा ठूलो दुर्घटना पर्ने खतरा देखा परेको र संविधानमा नभएको अधिकार प्रयोग गरी पटक पटक सदन विघटनको प्रयास गरिएको उहाँको भनाई छ ।
संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध संघर्ष नगरेको भए आज देश दुर्घटनामा परिसकेको हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,“देशलाई राजनीतिक दुर्घटनामा जानबाट बचाउन, प्रतिगमन , निरंकुशता र तानाशाहीको अराजकताको भुमरिबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो । ”
देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभएपनि सबैले देशको समग्र राजनीति स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमानदार भएर निणर्य उहाँले बताउनुभयो ।
गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन समेत उहाँले मतदाताहरुसमक्ष आग्रह गर्नुभयो ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुखमा र नेपाली काँग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।