ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गर्नुभएको हो ।
‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर उहाँ चुनावी प्रचार प्रसारमा होमिनुभएको छ । मेयरका प्रत्यासी अर्यालले आफूसँग स्पष्ट भिजन भएको दाबी गर्दै ढोरपाटनवासीले आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
दुई दशकदेखि पार्टीको मूल प्रवाहमा
ढोरपाटन नगरपालिका-२ मा २०३० मा जन्मनुभएका अर्यालले व्यवस्थापनमा स्नातक अध्ययन पूरा गर्नुभएको छ भने २०५६ सम्म माध्यमिक विद्यालयमा अध्यापन गराउनु हुन्थ्यो ।
व्यवसाय र पेशा छोडेर अर्याल २०५७ देखि नेकपा (माओवादी केन्द्र) बाट राजनीतिक जीवन शुरुवात गर्नुभयो । लामो समयदेखि पार्टीको मूल प्रवाहमा रहेकाले पार्टीले आफूलाई छानेको उम्मेदवार अर्यालको दाबी छ । उहाँले पार्टीको विश्वासलाई आफूले सही सावित गर्दै नगरवासीको जीवनस्तर उकास्न काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘२०५७ देखि म पार्टीको मूल प्रवाहमा रहेर काम गरिरहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘दुई दशकभन्दा लामो समयको ध्यान र एकाग्रताले पनि पार्टीले विश्वास गरेको हुनसक्छ, पार्टीले गरेको विश्वासलाई यथार्थमा बदल्नका लागि विशेष योजनाको साथ आएको छु ।’
माओवादी केन्द्र ढोरपाटन नगर कमिटीले अर्यालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । नगरमा सर्वसम्मति भएपछि प्रदेश कमिटी सदस्यसमेत रहनुभएका उहाँको एकल नाम सिफारिस गरिएको हो ।
शैक्षिक, सामाजिक, बौद्धिक र राजनीतिक रूपले अब्बल
दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा सक्रिय रहेर आफूले विगत १५ वर्षदेखि काम गर्दै आएकाले ढोरपाटनवासीले आफूलाई नै चयन गर्ने उहाँको विश्वास छ । उहाँले आफूलाई निष्कलंकित सामाजिक र राजनीतिक व्यक्ति भएको स्वघोषणा गर्नुभयो ।
नगरको उम्मेदवारमा उठेकाभन्दा आफू शैक्षिक, सामाजिक, बौद्धिक र राजनीतिक रूपले अब्बल भएको उहाँको दाबी छ । विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभवले विकास निर्माणका विषयवस्तुको ज्ञान भएको उहाँले बताउनु भयो ।
उम्मेदवार अर्यालले अन्य प्रतिस्पर्धीको तुलनामा आफ्नो भिजन उत्कृष्ट भएको बताउँदै भावी योजना र खाकाले ढोरपाटन नगरको मुहार फेरिने दाबी गर्नुभयो । उहाँले यसअघिका नगरप्रमुखले गरेका गलत कामबाट मुक्ति पाउनका लागि भए पनि नगरवासीले आफूलाई मतदान गर्ने बताउनु भयो ।
के छन् अर्यालका प्रतिवद्धता ?
प्राकृतिक सुन्दरताले भरिपूणर् ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् ।
पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले देशकै उत्कृष्ट बनाउन आफूले उम्मेदवारी दिएको अर्याल बताउनु हुन्छ । नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने उहाँको योजना छ ।
धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि आफू गुरुयोजनाको साथ आएको उहाँको भनाइ छ । उक्त गुरुयोजनामा नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिने उहाँको प्रतिवद्धता छ ।
यस्तै ढोरपाटनको वनमा कुहिएर गएका काठ व्यवस्थापनका लागि मात्र चारवटा काठ उद्योग स्थापना गर्न सकिने उहाँको योजना छ । त्यसमार्फत् प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजारलाई रोजगारी दिन सकिने अर्यालले बताउनु भयो ।
आफू निर्वाचित भएका नगरमा रहेका ९ वडाका हरेकमा १० देखि १२ जना गरी १ सय जनालाई रोजगारी उपलब्ध गराउने उहाँको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उहाँले बताउनु भयो ।
१० जनालाई इञ्जिनियरिङ र ५ जनालाई एमबीबीएस अध्यापन
उम्मेदवार चन्द्र अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणा गर्नुभएको छ । नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको बताउनु भयो ।
अहिले विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूणर्रुपमा पालना नभएको भन्दै उहाँले आफूहरुले त्यसलाई पूणर् कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धता छ । परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्कलाई पूणर्तः हटाउने उहाँले बताउनु भयो ।
यस्तै, अर्यालले प्राविधिक शिक्षालाई जोड दिने, विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्को महत्वपूणर् घोषणा भनेको हरेक वर्ष गरिब, विपन्न, जेहेन्दार, दलित र असहाय १० विद्यार्थीलाई इञ्जिनियर र ५ विद्यार्थीलाई एमबीबीएस पढाइने छ ।
रिफर गर्नु नपर्ने गरी नगरमै सुविधासम्पन्न अस्पताल
अर्यालको प्रतिवद्धताको पोको खोल्दा हरेक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य इकाई स्थापना गर्ने महत्वाकांक्षी योजना भेटियो । आफूले ठूलो लक्ष्य लिएको र त्यसलाई पूरा गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, नगरपालिकाका स्थानीयलाई थप उपचारका लागि पाल्पा, पोखरा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यताको अन्य गर्नका लागि नगरमा उच्च स्तरको अस्पताल स्थापना गर्ने उहाँको योजना छ ।
किसानलाई प्रतिलिटर दूधमा २० रुपैयाँ अनुदान, प्रतिकेजी मासुमा १० रुपैयाँ
नगर प्रमुखको उम्मेदवार अर्यालले कृषि क्षेत्रमा आफूले नयाँ क्रान्ति गर्ने गरी योजना बनाएको बताउनु हुन्छ । किसानलाई यान्त्रिकीकरण गर्दै व्यावसायिक कृषिका लागि आधुनिक र उच्चस्तरको प्रविधि भित्र्याएर उत्पादन र लागत बढाउने उहाँको प्रतिवद्धता छ ।
यस्तै, नगरभित्र कुनै किसानले दूध उत्पादन गरेर बेचेमा उसलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने अर्यालको आश्वासन छ । यतिमात्र नभई नगरभित्रै उत्पादन गरे मासु बेच्नेलाई प्रतिकेजी १० रुपैयाँ अनुदान नगरपालिकाले दिने उहाँको तयारी छ । कृषिलाई जीविकोपार्जनबाट व्यावसायिकतर्फ रुपान्तरण गर्न नसकेसम्म नगरवासीको जीवनस्तर माथि उठाउन नसकिने उहाँको बुझाइ छ ।
पूर्व प्रमुखको पाँच वर्षीय कार्यकालको समीक्षा
अर्यालले गएको पाँच वर्षमा स्थानीय सरकारले एउटा पनि राम्रो काम नगरेको आरोप लगाउनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)का देवकुमार नेपाली नगरप्रमुखमा विजयी हुनुभएको थियो । नगर सरकारले पाँच वर्षीय कार्यकाल अपारदर्शी, त्रुटीपूणर् र अव्यवहारिक भएको उहाँको आरोप छ ।
नगरप्रमुख उत्पादनमुखीभन्दा वितरणमुखी भएको, कार्यकर्ता पोसेको र नगरपरिषद् बैठकमा समन्वयन नगरी एकलौटी रूपमा कार्य सञ्चालन गरेको आक्षेप पनि अर्यालले लगाउनु भयो । गत वर्ष आएको बाढीका कारण ढोरपाटनका ४० भन्दा बढी नगरवासीको ज्यान गएको र उनीहरूलाई नगरपालिकाले अहिलेसम्म पुनस्र्थापना गर्न नसकेको उहाँको भनाइ छ ।
नेपालीको कार्यकालमा ढोरपाटन नगरपालिका देशकै सबैैभन्दा बढी बेरुजु राख्ने नगर भएको अर्यालको दाबी छ । एक वर्षमा नगरपालिकाको बेरुजु ६ करोडभन्दा बढी रहेको उहाँको भनाइ छ । उहाले पाँच वर्षमा नगरपालिकाले १ किलोमिटर सडक पनि कालोपत्रे नगरेको र योजनावद्ध विकास नगरेको उहाँको आरोप छ ।
२०७४ को निर्वाचन र वर्तमान अवस्था
स्थानीय तह निर्वाचन २०७४ लाई हेर्दा ढोरपाटन नगरपालिकाका निवर्तमान मेयर देवकुमार नेपालीले कुल मतदाताको २२.४५ प्रतिशत मत प्राप्त गर्नुभयो । सो समयमा नगरमा ११ हजार ९९० मतदाता रहेकोमा नेपालीले २ हजार ६९२ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन शेरचनले १ हजार ९४६ मत पाउनुभएको थियो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले १ हजार ९ सय मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४ सय मत ल्याएको थियो । गत स्थानीय तह निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा ५ हजार ६४० नयाँ मतदाता थपिएका छन् । गएको निर्वाचनभन्दा राजनीतिक अवस्था फेरिएका कारण पनि उम्मेदवारहरू नयाँ मतदाताको मत तान्न लागि परेका छन् ।
नगरको प्रमुखमा अर्याल र नेकपा (एमाले) का तर्फबाट निवर्तमान मेयर नेपाली चुनावी मैदानमा छन् । सत्ता गठबन्धनले अर्यालको पक्षमा मत माग्दा एमाले आफ्नो विरासत छोड्न चाहँदैन । नेपालीलाई राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको पनि समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय