
उदयपुर
सशस्त्र प्रहरीका पुर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) इन्द्रराज कार्की सकृय राजनीतिमा होमिएका छन् ।
३० बर्षे सरकारी सेवा अवधि सकेर गाउँ फर्किएका कार्की नेकपा एमाले पार्टीमा आवद्ध भई राजनीतिमा होमिएका हुन् । उदयपुरको त्रियुगा नगरपालिका वडानं ८ को वडा कमिटीको उपसचिबको जिम्वेवारी सम्हालेका कार्कीलाई स्थानीय तहको निर्वाचनमा पार्टीले वडा सदस्यको उमेदवार बनाएको अध्यक्ष परमेश्वर घिमिरेले बताए ।
पार्टीको वडा कमिटीमा रहँदा जनतासँगको सामिप्यता र सामाजिक अभियानमा अब्बल देखिएकाले वडासदस्यको उमेदवारी बनाएको उनले बताए । एसएसपी कार्कीले प्रहरी सेवा सकिएलगत्तै राजनीति गर्न काठमाण्डौँको बसाईलाई अन्त्यगरी गाउँ फर्किएको बताए ।
‘मेरो सहरको बसाई रहर हैन बाध्यता हो, उनले भने, ‘मलाई गाउँ नै पृय छ, यहाँको समाजसेवा गर्न पाउनु मेरो भाग्य हो । ‘धेरैले राजनीति नै गर्ने हो भने नेतासँग भेट्नु र माथिल्लो कमिटीमै बसेर काम गर्न सुझाब दिएका थिए, कार्कीले भने, ‘एकै पटक ठुलो पदमा बस्दा असहज हुने र हिजो रातदिन आफ्नो काम छोडेर राजनीतिमा होमिएका साथीहरुमाथि अन्याय हुन्छ भन्ने ठानेर तलबाटै सुरु गरेको हुँ ।
उनले सरकारी सेवा र राजनीति फरक बिषय भएपनि कतै न कतै जोडिने भएकाले, राजनीतिक संस्कार सानै देखि बुझेको बताए । सानै उमेरदेखि नेकपा एमाले प्रति सामाप्यिता रहेपनि सेवाकालिन अवधि सबैसँगको समझदारी र सहकार्यमा विताएकाले निर्वाचनमा सबैको साथसहयोग रहेने विश्वास व्यक्त गरे ।
कार्कीले जागिँरे जीवन पनि जनताको सेवा नै भएकाले थप सेवा गर्न राजनीतिमा होमिएको बताए । उनले भने, ‘वारिह जति सामाजिक कार्य गर्न सहज हुन्छ, चेनअफ कमाण्डमा बसेर कामगर्दा त्यस्तो सहज हुन्न त्यसैले खुल्ला राजनीतिकमा आएको हुँ ।
समृद्ध नेपाल सुखी नेपालको परिकल्पना नेकपा एमालेकै भएकाले चुनाव जित्ने मुल आधार पनि त्यहीँ भएको उनले बताए । कार्कीले एमाले प्रतिको जनतामा वढ्दो आकर्षण नै जित्ने आधार भएको बताए । उदयपुरको तत्कालिन भुट्टार गाबिस (हालको रौतामाई गाउँपालिका २ खजौरेमा जन्मिएका कार्की पछिल्लो समय परिवारसहित त्रियुगा नगरपालिका ८ मा स्थायी घर बनाई बस्दै आएका छन् ।