वैशाख ६ गते ।
उदयपुरमा आज र भोली ५ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाकाको औषधी खुवाईदैँ छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । जिल्लामा ३२ हजार ८ सय ६९ जना बालबालिकालाई औषधी खुवाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुईटेलले जानकारी दिए ।
जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठवटै पालिकामा बालबालिकालाई औषधी खुवाईने छ । त्रियुगामा ८ हजार ४१ जना, कटारीमा ६ हजार २ सय ८०, चौदण्डीगढीमा ४ हजार ६ सय ४६ र बेलकामा ३ हजार ९ सय ८४ बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
यस्तै,उदयपुरगढीमा ३ हजार ६ सय ५५, रौतामाईमा २ हजार ८ सय ३१, लिम्चुङबुङमा १ हजार ५ सय २४ र ताप्लीमा १ हजार ९ सय ८ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको तथ्याङ्क अधिकृत लुइटेलले जानकारी दिए ।
भिटामिन ए र जुकाको औषधि खुवाउन ५ सय ३१ जना स्वयंसेविका परिचालन गरिएको छ, भने स्थानीय तहले आफ्नै तरिकाले स्वास्थ्यकर्मी परिचालन गर्ने छ ।