
तुलसी निरौला, झापा
झापामा कोराेना सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढेपछि लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ ।
मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।
प्रहरीले विभिन्न उद्योग र ग्यारेजबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको जनाएको छ ।
दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स र जलकन्या ट्रेडर्समा ती सिलिन्डरहरु रिफिलका लागि पठाइएको प्रवक्ता थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिसिम्नाले सङ्कलन गरिएका सिलिन्डरहरु निजी तथा सरकारी अस्पतालमा विरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने बताए ।
झापाका अस्पतालमा अक्सिजन अभाव भए उपलब्ध गराउने बताउँदै प्रजिअ तिम्सिनाले अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर सिलिन्डर सङ्कलन गर्न थालेकाे जानकारी दिए।