कञ्चनपुर, वैशाख १०

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ ।

कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको कारखानाका सञ्चालक उमाकान्त जोशीले बताए । उनले आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइने पबि जानकारी दिए । मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उनले बताए । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ ।

कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ । कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए । बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएकोमा अब राहत महसुस हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय