चितवन ।00 भरतपुर महानगरपालिका वडा नम्बर २५ मा पाँच दलीय गठबन्धनको तर्फबाट गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा वडाध्यक्ष पदका उम्मेद्वार विजय भुजेल चितवनको कम्युनिष्ट आदर्शका एक जिउँदो इतिहास हुन् भन्दा फरक पर्दैन ।
काँग्रेस कम्युनिष्टबीचको द्वन्द्वका कारण २०४२ सालमा ठूलो आक्रमणबाट बाँच्न सफल भुजेल यतिबेला काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बनेका छन् ।
भुजेलकै भनाइलाई आधार मान्दा हिजो पार्टी पार्टीबीच एक आपसमा ठूलो वैरभाव थियो । पञ्चायती शासकले फुटाउ र राज गर भन्ने चाहन्थ्यो हामी आपसमा लड्थ्यौं । यथास्थितिवादीले त्यसैबाट फाइदा उठाउँदै सत्ता चलाउँदै आएका थिए । एकताबद्ध भएर लड्दा २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्थालाई फाल्न सफल भयो । ऐतिहासिक जनयुद्ध र ०६२/०६३ को संयुक्त जनआन्दोलनले राजतन्त्रलाई सदाको लागि अन्त्य गर्यो । यतिबेला प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । यो गठबन्धनलाई जीवित राख्न सकियो भने संविधानलाई पनि जीवित राख्न सकिन्छ भन्ने ठहर भुजेलकोे छ ।
हिजोको आफ्नो इतिहास बारेमा छोटो परिचय दिंदै भुजेलले भने, ‘२०४२ वैशाख १८ गतेको चर्को घाम थियो । मेघौलीको एक विद्यालयबाट कुमाल थरका एक विद्यार्थीलाई विद्यालयबाट निस्काशन गरेको सूचना बाहिर आयो । विद्यार्थी युनियनका ७ जना नेताहरु छलफलका लागि जानकी मावि मेघौली पुग्यौं । छलफलकै क्रममा ती नेताहरुमाथि धारिलो हतियार प्रहार भयो । सँगै गएका साथीहरु केही भाग्न सफल भए । त्यही क्रममा एक जनाले ज्यान गुमाए, अर्का एक जना नेतालाई बेहोस अवस्थामा काठमाडौँको वीर अस्पताल लगियो । ज्यान गुमाउने नेता तत्कालीन रामपुर कृषि क्याम्पसका स्ववियु सभापति मित्रमणि आचार्य थिए । बेहोस अवस्थामा २३ दिनसम्म जीवन र मृत्युसँग लड्दै गर्दा होस खुल्ने व्यक्ति म आफै थिएँ । उनले शरीरभरि दाग देखाउँदै भने ।
को हुन् विजय भुलेज ?
न्यायको लागि सतिसालझंै उभिने भुजेल साविक शुक्रनगरका रैथानी हुन् । उनको जन्म विस २०१८ जेठ २२ गते मानबहादुर भुजेल र आमा देवका भुजेलको कोखबाट भएको थियो । बुवा भारतीय सेनामा जागिरे थिए ।
स्थानीय जनज्योति स्कुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका भुजेलले प्रभात मावि हुँदै आदर्श मावि दिव्यनगरबाट एसएलसी उर्तीण गरेका थिए । कृषिमा रुचि राख्ने भुजेल सुन्दर बजार कृषि कलेज लमजुङबाट प्रमाण-पत्र तहसम्मको अध्ययन पूरा गरेका छन् ।
सानैदेखि कम्युनिष्ट राजनीतिक चेत भएका भुजेल अन्याय, अत्याचार, विवेदविरुद्ध आवज बुलन्द पार्ने गर्दथे । अखिल विद्यार्थी फण्ड क्रान्तिकारीबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका भुजेल खरो, कडा मिजास स्भावभावका रुपमा परिचित छन् ।
पश्चिम चितवनको शुक्रनगर गाविसको ५ वर्ष अध्यक्ष बनेका भुजेल चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको शुक्रनगर सामुदायिक उपभोक्ता समितिका अध्यक्ष, संयुक्त केरुङ्ग उपभोक्ता समितिमा ५/५ वर्ष अध्यक्ष भएर काम गरेका थिए । विभिन्न सामाजिक क्षेत्रमा काम गरी हालको भरतपुर २५ लाई कृषि, पर्यटन हब बनाउने चाहनासहित वडाको नेतृत्व गरिरहेका भुजेल फेरि अध्यक्ष पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार हुन् ।
भुजेलले वडालाई पूर्वाधार विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि र पर्यटनको हब बनाउने योजनाका साथ निर्वाचनमा होमिएका छन् । आगामी ५ वर्षभित्र वडा सुन्दर, हराभरा र यहाँका आदिबासीहरुलाई उत्थान गर्ने गरी अगाडि बढेका छन् ।
यस्ता छन् भुजेलका योजना
वडामा निर्वाचित भएसँगै यस क्षेत्रलाई कृषिको हब बनाउन कृषकहरुलाई अनुदानमा मल, बिउलगायतका सामग्री वितरण गर्ने लक्ष्य रहेको भुजेल बताउँछन् । कृषिलाई उद्योगमा परिणत गर्ने लक्ष्य राखेको पनि उनी बताउँछन् । वडामा रोजगारी सिर्जना गरी यहाँका आदिबासी, जनजाती, विपन्न वर्गको जीवन उकास्न काम गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्ने प्राथमिकतामा राख्ने उनी बताउँछन् । त्यस्तै वडाको राप्ती तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेर महानगरको पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको छ भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढ्ने उनी बताउँछन् । यस्तै विगतको कार्यकालमा अधूरा अपूरा रहेका कामलाई निरन्तरता दिई भरतपुरको नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको चाहना छ ।






