आवरउदयपुर, कार्तिक ११ । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरको कारोवार आठ करोड बढि नाघेको छ । शनिबार सम्पन्न २४ औँ बार्षिक साधारणसभामा अध्यक्ष डिगमबहादुर कार्कीले संस्थाको हालसम्मको पुँजि आठ करोड ६३ लाख ५१ हजार ४७९ रुपैँया १३ पैसा रहेको आयव्यय विवरणसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
जुन अघिल्लो बर्षको तुलनामा ७१ लख ३८ हजार ६८ रुपैँयाले बढि हो । संस्थाले अघिल्लो आर्थिक बर्ष ०७९÷८० मा सात करोड ९२ लाख १३ हजार ४११ रुपैँयाको कारोवार गरेको अध्यक्ष कार्कीले बताए ।
संस्थाको निक्षेप रकम ६ करोड ३६ लाख ३६ हजार ३७१ रुपैैँया ६२ पैसा रहेको छ । कुल पुँजीमध्ये ८ करोड ११ लाख ५० हजार २०१ रुपैँया ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । पाँच सय जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजि १ करोड ६२ लाख ७९ हजार २०० रहेको अध्यक्ष कार्कीले बताए ।
संस्थाको बार्षिक आम्दानी र खर्चतर्फ विभिन्न शिर्षकमा गरी ९२ लाख एक हजार १३० रुपैँया ८८ पैसा रहेको कोषाध्यक्ष रेकबहादुर मश्राङ्गी मगरले बताए । कार्यक्रममा आ.व. ०८१÷८२ का लागि ९९ लाख ५१ हजार १११ रुपैँया आयव्यय अनुमान गरेको छ भने आ.व. ०८२÷८३ का लागि एक करोड ४ लाख ४९ हजार १११ रुपैँयाको प्रस्ताव गरेको उनले बताए ।
त्यसैगरी जगेडा कोषतर्फ ४९ लाख ७६ हजार ४६३ रुपैँया ३२ पैसा, अन्य कोषमा ९ लाख १० हजार ९१९ रुपैँया रहेको उनले बताए । प्रतिकुल समयमा पनि संस्थाले आफ्नो नियमित गतिबिधि र कारोवारमा उल्लेखिय प्रगतिहासिल गरेको सचिव जीवनकुमार थापाले बताए ।
सभाले आगामी आर्थिक बर्षमा सामाजिक कार्यमा थप सहकार्य गर्ने अख्तियारी प्रदान गरेको उनले बताए । अध्यक्ष कार्कीले राज्यले परिभाषा गरेको कडारोगीको उपचारका लागि सेयर सदस्य वा आश्रित परिवारलाई दश हजार, सेयर सदस्यको मृत्यु भएमा दश हजार र सुत्केरी भएमा पाँच हजार रुपैँया उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
कार्यक्रममा कक्षा १ देखि ९ सम्म अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका १६ जना सन्तती, जेष्ठ सेयर सदस्य तथा नियमित वचतकर्तालाई नगदसहितले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले पछिल्लो समय सहकारी प्रति सर्वसाधरणको हेराई र बुझाई नकारात्मक भएपनि निजामती कर्मचारले सञ्चालनमा ल्याएको सहकारीमा खासै असर नपुगेको बताए ।
उनले जनताको सेवालाई पहिलो प्राथमिकता दिँदै बाँकी समय संगठन र सहकारीलाई चलायमान बनाउन आग्रह गरे । नेपाल निजामती कर्मचारी संगठन एउटा इतिहास बोकेको संगठन भएकाले यस प्रतिको विश्वास र भरोसाकै कारण देशमै पहिलो संगठनकोरुपमा स्थापित भएको अध्यक्ष कोईरालाले बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिन आग्रह गरे । उनीहरुले हालसम्म वचत तथा ऋण कारोबार मात्रै गर्दै आएकोले आगामी बर्षमा समय सुहाउँदो विभिन्न कृषि, व्यवसायिक जडिवुटी, खाद्यमल विउँविजन जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।
अध्यक्ष कार्कीको अध्यक्षता, सचिव थापाको सञ्चालन र उपाध्यक्ष हिमालय पौड्ेलले स्वागत गर्नु भएको उक्त कार्यक्रममा संगठनका पुर्व केन्द्रीय महासचिव जिवन काफ्ले, केन्द्रीय सदस्य तथा जिल्ला इन्र्चाज महेश फुयाँल लगायतले बोलेका थिए ।