आवरउदयपुर,मंसिर १९ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सारिएको छ । पार्टीको सचिवालयले बैठकले महाधिवेशन काठमाडौंमा आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । मदन–आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुने खतिवडाले बताए ।
यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । अब माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको छ ।
खतिवडाका अनुसार यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।
सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानका कतिपय व्यवस्थाबारे छलफल गर्न एक कार्यदल बनाउने निर्णय पनि गरेको छ ।






