आवरउदयपुर,कार्तिक १७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकारको कामकार्वाहीलाई किराना पसलको संज्ञा दिएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा उदयपुर आईपुगेका मिश्रले विहीबार पत्रकारसँगको भेटघाटमा एक दशक यता सरकारको कामकार्वाही किराना पसलको व्यापार जस्तो मात्र भएको बताए ।
उनले भने, ‘विहान उठ्ने, पसल खोल्ने दिनभर व्यापार गर्ने बेलुका बन्द गरी घरमा गएर सुत्नेभन्दा वाहेक केहि काम हुन सकेको छैन्, यसरी पनि सरकार चल्छ ?’ ‘जनताका जनजीविकाका सवाल जस्ताको त्यस्तै छ, संस्थागत भ्रष्टचार मौलाएको छ, यस बिषयमा सरकार मौन छ,’ मिश्रले भने, ‘वालुवाटार जग्गा, सुनकाण्ड लगायतका थुप्रै प्रकरणहरु नाङ्लो ठोकेर हात्ति तर्साउने गरी गरियो, अहिले सबै सेलाए, यसरी सुशासन आउँछ ।’
‘राजनीतिक आवरणमा हत्या, लुटपाट, गुण्डागर्दी हुन थाले,’ उनले भने, ‘गलत नजिर स्थापित गर्न दिनदहाडै खुँडा प्रहार गर्ने अपराधीलाई राष्ट्रपतिले कार्वाहीको साटो आममाफी दिएर दुनिँयालाई लज्जित बनाए, यहाँभन्दा हिनताबोध हामीमा के नै बाँकी रह्यो र ।’
पार्टी संगठन निर्माणसँगै राजतन्त्र पुर्नःस्थापनाका लागि जनआन्दोलनको तयारी गर्दै हिडेका मिश्रले नविन समझदारीमार्फत राजसंस्था स्थापना हुने ठोकुवा गरे । उनले भने, ‘देशको दुर्गामी प्रभावका लागि एकताको प्रतिक राजसंस्था नै अपरिहार्य छ ।’
‘राजसंस्था राजनीतिक बिषय मात्र हैन्, धर्म, संस्कृति, देशको भु–राजनीति र एकताको सुत्र पनि हो,’ उपाध्यक्ष मिश्रले भने, ‘आज राजा जहाँ जान्छन, त्यहाँ दशौँ हजार जनता स्वस्र्फुतरुपमा समर्थनमा निस्कन्छन्, यसले के देखाउँछ भने अव राजा पुर्नस्थापना हुने समय धेरै टाढा छैन् ।’
उनले देशलाई सहि ठाउँमा ल्याउने हो भने राजा र राजनीतिक दलका नेता एक ठाउँमा बसेर नविनतम समझदारीमार्फत राजा फर्काउनुको विकल्प नभएको स्पष्ट पारे । उनले भने, ‘देश आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले ठुलो भडखालोमा डुविसकेको छ, यसर्थ यसको रक्षार्थ सबैले हिजो उत्कृष्ट भनेको २०४७ सालको संबिधानलाई केहि परिमार्जन गरी अघि बढाउ्नु पर्छ ।’
मिश्रले ०६२÷०६३ को जनआन्दोलन र दशबर्षे जनयुद्धको खासै औचित्य नभएपनि त्यसका केहि अंश समावेशी, समानता, अधिकारको अग्रधिकार जस्ता मुलभुत बिषयबस्तुलाई उपलब्धिकोरुपमा लिई २०४७ को संबिधानमा संसोधन गरी समावेश गर्न सकिने बताए ।
अधिकांस समय राजतन्त्र पुर्नःस्थापनामा खर्चिएका वरिष्ठ उपाध्यक्ष मिश्रले राजसंस्था जनताले फालेको नभई, विधी र प्रकृया मिचि जवरजस्त बनाइएको संबिधानले फालेको हुँदा जनताको वलबाट अव आउने स्पष्ट पारे ।
राजा आफुले म आउँछु भनेका छैनननी भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘राजाले चाहेर राजा हुने हैन र फर्कने पनि हैन् यो केवल जनताले चाहेर मात्र सम्भव हुने भएकाले उहाँले आफु आउँछु भन्न नसकेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय