
सुनसरी
नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताउनुभएको छ ।
प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भटटराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गर्नुभयो ।
पूर्व सञ्चार तथा पर्यटनमन्त्री समेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने पनि बताएका थिए । भटटराईले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।
प्रेस संगठन नेकपाको भातृसंगठन भएकाले नेकपाको कार्यदिशा जनताको जनवाद भएको र त्यसलाई कार्यान्वयन गर्न कलम चलाउनुपर्नेमा पनि भट्टराईले जोड दिनुभयो ।
भट्टराईले देशमा केपी ओलीवादको अन्त्य समयको आवश्यकता रहेको बताउँदै केपी ओलीले जनताको बहुदलीय जनवादको दुरुपयोग गरेको आरोप लगाउनुका साथै ओलीबाट जनताको बहुदलीय जनवाद मुक्त गर्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि दावी गर्नुभयो ।
ईटहरी हटियालाईन स्थित नेकपाको पार्टी कार्यालयमा भएको भेलामा प्रेस संगठनका सह इन्चार्ज तथा संयोजक महेश्वर दाहाल, सह इन्चार्ज ओम शर्मा, विष्णु रिजाल, सह संयोजकहरु विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई, पूर्व–अध्यक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट लगायतले सम्बोधन गर्नुभएको थियो।