आवरउदयपुर,कार्तिक २ । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न घटनामा संम्लग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पछिल्लो बीस दिन यता अपराध न्युनिकरणका लागि प्रहरी युनीटबाट भएगरेका गतिविधि बुधबार सार्वजानिक गर्नेक्रममा कर्तव्य ज्यान मुद्दामा तीन जना, ठगिमा एक जना र नियन्त्रित औषध मुद्दामा दुई जना पक्राउ परेको जानकारी दिइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार मंगलबार राती २९ बर्षिया छविमाया राईलाई प्रेसरकुकर र भड्डु भाँडाले हिर्काएर हत्या गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ नागवेलीका ३१ बर्षिय सन्तोष भनिने पिटर राईलाई पक्राउ गरिएको छ । उनीहरु श्रीमान श्रीमती हुन् ।
भारतको नयाँदिल्लीमा ९ महिना काम गरेर १४ दिन अघि उदयपुर फर्किएका उनीहरु त्रियुगा नगरपालिका ५ श्रीपुरमा छविमायाको दिदिको घरमा बस्दै आएका थिए । राती ९ बजे मादकपर्दाथ सेवन गरी बसेको घर पुगेका राईले आपसी विवादमा श्रीमतीलाई प्रेसरकुकरले क्रुरता पुर्वक अनुहार, नाक, मुखमा कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ ।
कुटपिटबाट भुईमा ढलेकी राईलाई स्थानीयले जिल्ला अस्पतालमा पुर्याएका थिए । उनलाई चिकित्सकले राती १०ः३० बजे मृत्यु घोषणा गरेका थिए । घटना लगत्तै भारत भाग्ने मनस्थितिले फरार भएका आरोपितलाई त्रियुगा नपा ८ राजबास बैरेनीबाट १२ः५० बजे पक्राउ गरिएको एसपी थापाले बताए ।
प्रहरीको अनुसन्धानबाट उनीहरु विच विगत तीन बर्षदेखि घर्यासी झगडामा स्थानीयले पटक–पटक छलफल गरी मिलाइएको खुलेको छ । एसपी थापाले भने, ‘आरोपितको प्रारम्भिक वयान र घटनाको वस्तुस्थिति हेर्दा आरोपितको मनसाय श्रीमतीलाई कुनै न कुनै रुपले शारिरीकरुपमा क्षति पुर्याउने योजना रहेको देखिन्छ ।’
त्यसैगरी प्रहरीले साउन ११ गते राती त्रियुगा नपा ७ सुक्लाईका रमेशकुमार सार्कीलाई हत्या गरेको आरोपमा सोही ठाउँका चन्द्रकुमार सार्की र तेजकुमार सार्कीलाई पक्राउ गरेको छ । चन्द्रकुमारको आदेशमा छोरा तेजकुमारले चिरपट दाउरा प्रहार गरी रमेशको हत्या गरेको खुलेको एसपी थापाले बताए ।
कुटपिटबाट घाईते भएका रमेशको दुई महिना पछि असोज १५ गते मृत्यु भएको डिएसपी हरिनन्दन चौधरीले बताए । घटना लगत्तै फरार रहेका उनीहरुलाई असोज ३० गते पक्राउ गरिएको उनले बताए । आरोपितहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको कर्तव्य ज्यान मुद्दामा परिणत गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा प्रहरीले ठगि मुद्दामा रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित श्रृजनशिल लघुवित्त वित्तिय संस्थाका वरिष्ठ फिल्ड सहायक त्रियुगा नपा ५ का २७ बर्षिय गौरवबहादुर अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारीले २०७८ माघ २८ यता विभिन्न समयमा संस्थाको फर्जि नामावली कागज बनाई फर्जि ऋणपत्र देखाई साँवा ५० लाख ९१ हजार ५७७ र व्याज २२ लाख ३१ हजार १६६ गरी जम्मा ७३ लाख २२ हजार ७४३ रुपैँया ठगि गरेको डिएसपी चौधरीले बताए ।
उनलाई असोज २९ गते महोत्तरी जिल्लाको वलवा नगरपालिका ९ अध्यानपुर (भारतको सिमाना नजिक)मा लुकिछिपी बस्दै गरेको अवश्थामा पक्राउ गरिएको उनले बताए । उनलाई संस्थाको तर्फबाट नै जाहेरी दिएपछि ठगिबाट बैकिङ्ग कसुर मुद्दामा परिणत गरी अनुसन्धान सुरु गरिएको डिएसपी चौधरीले बताए ।
त्यसैगरी विल विनाको ३८ हजार मुल्य पर्ने नियन्त्रित औषधि कारोबार गरेको आरोपमा प्रहरीले कटारी ३ का चन्द्रकुमार सुनुवार र वडानं ४ का ३५ बर्षिय तेजेन्द्र सुनुवारलाई पक्राउ गरेको छ । असोज ३० गते कटारी १ बेलसोतस्थित सिन्धुली भित्रको सडकखण्डबाट ओसारपसार गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले बताए ।
उनीहरु व्यापारी नभई लागुऔषध प्रयोगकर्ता रहेको अनुसन्धानबाट खुलेको उनले बताए । दुबैलाई थप अनुसन्धानका लागि औषधि विभाग बिराटनगर पठाईएको उनले बताए । प्रहरीले आरोपित द्धयको साथबाट डिकोफ एक सय चक्किी, टेनाग १ हजार ८१०, स्पास्मो १ हजार ५०० र कोफट्याव–डिट्यावलेट १४ थान ट्यावलेट वरामद गरेको उनले बताए बताए ।
पत्रकार सम्मेलनमा एसपी थापाले असोज १८ गतेदेखि २७ गतेसम्म बेलका नगरपालिकाको मैनामैनी र ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा करिव एक सय पाँच रोपनी जग्गामा लगाइएको १ लाख १३ हजार वोटविरुवा फडानी गरिएको जानकारी दिए ।
थापाले जिप्रकामा हाजिर भएयता दण्डहिनताको अन्त्यका लागि अभियानहरु सञ्चालन गरेको बताए । उनले जिल्लाको शान्ति, सुरक्षा मजवुद बनाउन योजनाबद्ध ढंगले मातहतका सबै युनिट परिचालन गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर