आवरउदयपुर,अशोज १२ । ग्रामिण भेगका अधिकांस महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन र स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको हो ।
वल्र्ड नेवर्स, त्रियुगा नगरपालिका स्वास्थ्य शाखा, वडानं १५ को कार्यालय, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले खाँबुमा आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।
शिविरमा स्वास्थ्य परीक्षण गरिएका १८४ जना मध्ये धेरै जना महिला पाठेघर खस्ने समस्या देखिएको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका प्रसुतिरोग विशेषज्ञ डाक्टर मुकेश झाले बताए । उनका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलामा यो समस्या देखिएको छ ।
‘महिला स्वास्थ्य सेवा लिन आएका १७१ जना मध्ये धेरैको पाठेघर खस्ने समस्या देखिएको छ, उनले भने, ‘त्यसमध्ये जटिल प्रकृतिका पाँच जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ । बाँकी केहिलाई रिङ्ग प्रेशरी राखिएको र सफा गरेर घर पठाइएको डाक्टर झाले बताए । केहिको पाठेघरको मुखमा मासु पलाएकाहरुको अप्रेशनका लागि अस्पतालमा झिकाइएको उनले बताए ।
शिविरमा महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआइए बिधीद्धारा गरिएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको डाक्टर झाले बताए । उनीहरुलाई तत्काल थप उपचार र परीक्षणका लागि सिफारिस गरिएको छ । पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्नै लाग्दा थाहा पाउने गरि प्रयोग गरिने स्पेकुलम औजारबाट गरिने परिक्षणनै भिआईए परिक्षण हो ।
डाक्टर झाका अनुसार ३० देखि ६० बर्ष सम्मका महिलालाई प्राय पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाईएको छ । पाठेघरको क्यान्सर बिशेष गरि कलिलो उमेरमा यौन सम्पर्क भएमा, यौन साथी धेरै जना भएमा, रोगबाट लड्ने क्षमता कमि भएमा, धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुन सक्ने उनले बताए ।
पाठेघर र मानसिक रोगी बिरामीलाई विशेष लक्षित गरी सञ्चालन गरिएको भए पनि शिविरमा अन्य रोगका बिरामीको पनि स्वास्थ्य परीक्षण गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । जसमा जेष्ठ नागरिकलाई हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने तथा अन्य उमेर समूह र बालबालिकामा घाउ खटिरा लगायत समस्या देखिएको उनले बताए ।
थापाले भने, ‘गाउँघरमा पाठेघर खस्ने समस्या लुकेर छिपिएर, जगडिएर बसेको छ यसले मृत्युलाई नजिक बोलाईरहेको छ, यसर्थ यस्ता शिविरमा निर्धक्क भन्नुभयो भने ज्यानको सुरक्षा हुन्छ ।
डा. निर्मला चौधरीले महिलामा तल्लो पेट दुख्ने र जेष्ठनागरिकमा हाडजोर्नी, महिलामा मानसिक रोगको समस्या देखिएको बताईन् । शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, लगायतको सेवा प्रवाह गरिएको अध्यक्ष थापाले बताए ।
बच्चादानी खसेका महिलाको निःशूल्क अप्रेसनका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामिण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइने कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार महिलाहरुको मुख्य समस्या रहेको पाठेघरको समयमै उपचार गर्न नसके क्यान्सर जस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम हुने भएकाले शिविर सञ्चालन गरिएको हो ।
सुबेदीले कार्यक्षेत्र भित्रका अन्य कटारी, बेलका नगरपालिका र रौतामाई गाउँपालिकामा आगामी दुई महिना भित्र तीन वटा शिविर सञ्चालन गरिने बताईन् । शिविरको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले ग्रामिण भेगका जनतालाई सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविर सञ्चालन गरिएको बताए ।
दुरदराजका जनताको स्वास्थ्यमा पहुँच नहुने भएकाले आगामी दिनमा यस्ता शिविर चलाउने कार्यक्रम निरन्तर चलाउँदै लाने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला अस्पताललाई नगरपालिकाले आर्थिक, भौतिक र दंक्ष जनशक्तिमा बार्षिक एक करोड बढि सहयोग गर्दै आएको बताए ।
वडाध्यक्ष गणेश तिमल्सिनाले विरामी भएपछि मात्र अस्पताल धाउने बानीले मानिसमा समस्या उत्पन्न भएको बताए । उनले अझै पनि धेरै मानिसहरुले रोगहरु लुकाउने र अन्तिम अवश्थामा आएपछि मात्र भन्ने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय