आवरउदयपुर,अशोज १० । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी मैदानमा देखिएका छन् । असोज १२ र १३ गतेका लागि तय भएको अधिवेशनमा अध्यक्षका लागि एमालेका पोलिटव्युरो सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले दौडधूप गरिरहेका छन् ।
कोशी प्रदेश एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेपछि केन्द्रीय तहका नेताहरु समेत आकांक्षी देखिएका हुन् । प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास हुन्छ । सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने एमाले स्थायी कमिटि सदस्य शेरधन राईले बताए।
पार्टी अध्यक्षको आकांक्षी देखिएका एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौविसे निवासी चेम्जोङ एमालेको बलियो खम्बाको रुपमा रहेका छन् । २०५४ सालपछि देशभरी माधव नेपाल समूहको दवदवा भइरहेको वेलापनि धनकुटामा उनकै नेतृत्वमा ओली समुहले जिल्लाको नेतृत्व गरेको थियो । लामोसमयदेखि ओली समूहमै रहँदै आएका उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए । २०५४ सालमा पार्टी उपसचिव र २०५७ सालमा सचिवमा निर्वाचित भई २०६६ सालसम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका नेता हुन् ।
पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका गुटगट राजनीति गर्ने व्यक्तिको सूचीमा रहेका छन् । संसदीय मोर्चाका सवै निर्वाचन हार्दै आएका ढकाल केन्द्रीय नेतृत्वले चाहेमा अध्यक्ष बन्न सक्छन् ।
मोरङकै लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै बसेका थिए । उनी २०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।
हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । २०५४ सालमा संखुवासभा जिल्ला विकास समितिको सभापति र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपाने सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।
एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् । अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर